इटहरी : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले सुनसरीबाट एकैसाथ दुई नेताले केन्द्रमा डेब्यु गरेका छन् । काँग्रेस सुनसरीका निवर्तमान सभापति तथा प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला केन्द्रीय सदस्य निर्वाचित भएका छन्। त्यस्तै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गाना खुल्ला तर्फ केन्द्रीय सदस्य विजयी भएका हुन् । विद्यार्थी राजनीतिबाट आएका दुवै राजीव सुनसरीका सरल र सादगी नेताको रूपमा परिचित छन् ।

यसअघि २ कार्यकाल सुनसरी सभापति भएका कोइराला प्रदेश समिति सभापतिका दाबेदार थिए । कोइराला टिमबाट उम्मेदवार हुने तयारी गरेका उनी गुरुराज घिमिरेले टिकट पाएपछि केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् । पछि घिमिरे २ मतले पराजित भए ।

सोमबार सम्पन्न मत परिणाममा प्रदेश तर्फको २ जनाको कोटामा कोइराला र मोरङका अमृत अर्याल विजयी भएका हुन् । प्रदेश १ को मुख्यमन्त्रीको चर्चामा रहेका कोइराला टिम नमिलेकै कारण मुख्यमन्त्री बन्न पाएनन् । कार्यकर्तामाझ लोकप्रिय छवि बनाएका उनी सुनसरीमा २ कार्यकाल सचिव र २ कार्यकाल सभापति चलाउने नेता हुन् । हालसम्मका सुनसरी सभापति मध्ये केन्द्रीय तहमा पुग्ने एक मात्र नेता हुन् कोइराला । बाँकी पुर्वसभापतीहरु केन्द्रीय राजनीतिमा स्थापित हुन सकेनन्।

ढुङ्गानाको पार्टी राजनीतिमा पहिलो डेब्यु भएको छ। लामो समय विद्यार्थी राजनीति गरेका उनी पहिला महासमिति सदस्य सम्म मात्रै भएका थिए। पछिल्लो समय नेबिसंघको केन्द्रीय सभापति भएपछि देशैभर प्रभाव बढाएका उनी खुल्लातर्फबाट विजयी भए।

इटहरीको जनता मावि बाट नेबिसंघको राजनीति सुरु गरेका ढुङ्गाना केन्द्रीय कोषाध्यक्ष हुँदै अध्यक्ष भएका हुन्। संस्थापन पक्षका प्रभावशाली नेताको रूपमा चिनिएका ढुङ्गानाको विजयी सँगै इटहरी काँग्रेसको केन्द्रसम्मको पहुँच सहज भएको छ । हालसम्म पार्टी बाहेक अन्य निर्वाचनमा उम्मेदवार नभएका उनलाई प्रतिनिधिसभा निर्वाचनको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ । दुवै राजीवको एउटै निर्वाचन क्षेत्र भएकाले प्रदेश वा प्रतिनिधिसभामा मिलाएर उम्मेदवारी दिन सक्ने देखिएको छ।