इटहरी : नेपाली काँग्रेस झापामा देउमान थेबे विजयी भएका छन्। संस्थापन इतर कृष्ण प्रसाद सिटौला पक्षका उनी कडा प्रतिस्पर्धाका बिच विजयी भएका हुन् ।
शुक्रवार देखी जारी मतगणनामा थेबेका प्रतिस्पर्धी संस्थापन विश्वप्रकाश पक्षका राम बहादुर कट्टेलले अग्रता कायम गरेका थिए । सुरुवात देखी नै अग्रता लिएका कट्टेल अन्तिम समयमा पराजित भए। अन्तिम सममयमा गणना गरिएको सिटौलाको निर्वाचन क्षेत्र नम्बर ३ को मतले थेबे विजयी भएका हुन् ।
त्यस्तै पदाधिकारीमा पनि थेबे प्यानलै विजयी भएको छ । थेबे प्यानलका उम्मेदवार केशव पाण्डे र शेरबहादुर भट्टराई उपसभापतिमा विजयी भए भने सचिवमा नवीन बिमली र कृष्ण हुँमागाइ विजयी भएका छन् । सहसचिवमा कमल भण्डारी र कालेन्द्र राजवंशी विजयी भएका हुन् । झापा काँग्रेसका हस्ती कृष्ण प्रसाद सिटौलाका उम्मेदवार थेबेले विश्वप्रकाश शर्माका उम्मेदवार कट्टेललाई पराजित गरेका हुन् । थेबेको जितले सिटौलाको साख जोगिएको छ। झापा काँग्रेसमा एकलौटी देखिएका सिटौलालाई १४ औँ अधिवेशन पछि चुनौती थपिएको छ।
१३ औँ अधिवेशनमा सिटौला प्यानलबाट जिल्ला उपसभापति भएका कट्टेललाई शर्माले सभापतिमा उम्मेदवार बनाएका हुन् । बौद्धिक व्यक्तिको रूपमा चिनिएका कट्टेलको उम्मेदवारीले झापा काँग्रेसमा तरङ्ग आएको छ। सिटौलाले भनेकै हुनुपर्ने मान्यताको विपरीत शर्माले कट्टेललाई उम्मेदवार बनाएर चुनौती दिएका छन् । १३ औँ अधिवेशनमा १४ औँ अधिवेशनमा थेबेलाई सभापति बनाउने गरी सहमति भएको थियो । पछि कुनै लिखित सहमति नभएको भन्दै शर्माले कट्टेललाई उम्मेदवार बनाएका थिए। यसअघि महामन्त्रीको उम्मेदवारी घोषणा सभामा शर्माले कट्टेलको पक्षमा खुलेर मत मागेका थिए।
कुल ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेकोमा थेबेको पक्षमा १७६५ र कट्टेलले १५१५ मत पाएका थिए भने बाँकी मत बदर भएको थियो ।








































































