धरान : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा संस्थापन (शेरबहादुर देउवा) प्यानलबाट लक्ष्मी खतिवडा उम्मेदवार हुने भएकी छिन्। संस्थापन पक्षका तिलक राईले आफू उम्मेदवार हुन नसक्ने बताएपछि खतिवडाले उम्मेदवारी दिएकी हुन्। महासमिति सदस्य तथा महिला विभागकी सचिव खतिवडा धरान काङ्ग्रेसकी प्रभावशाली नेतृ हुन्।
यसअघि संस्थापन इतर समूहका राई क्षेत्रीय सभापतिमा संस्थापन पक्षको सहयोगमा उम्मेदवार हुने पक्का भएको थियो । चुनाव सोही अनुसार चुनावी प्रचारमा रहेका उनले अन्तिम समयमा आएर उम्मेदवार बन्न नसक्ने जानकारी गराएका हुन् । यसअघि संस्थापन पक्षले पूर्ण सुवेदीलाई उम्मेदवार बनाएको थियो। पछि राईले समर्थन मागेपछि संस्थापन देउवा पक्षले सहमति जनाएको हो।
शनिवार सम्पन्न प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा संस्थापन पक्ष निक्कै कमजोर देखिएपछि राई पछि हटेका हुन्। संस्थापन पक्षको सहयोग र आफ्नो व्यक्तिगत मतको आधारमा चुनाव जित्ने रणनीतिमा रहेका उनी प्रदेश क्षेत्रको अधिवेशनपछि हच्किएका हुन्।
उता संस्थापन प्यानलले भने सोमबार बिहानै पत्रकार सम्मेलन गरी खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। नगर अधिवेशनमा किशोर राईका विरुद्ध लागेका तिलक राईलाई उम्मेदवार बनाउनु गल्ती भएको बताउँदै खतिवडालाई उम्मेदवार बनाएको संस्थापन पक्षका नेता गोविन्द सुब्बाले बताए।
इतर पक्षका उम्मेदवार श्याम पोखरेलको प्रस्तावक रहेका तिलक राई आफै नगर अधिवेशन पछि देउवा समूहमा आएको उनले प्रष्ट पारे। केन्द्रबाट नै दबाब आयपछि बाध्यात्मक रूपमा सुवेदीको ठाउँमा तिलक राईलाई उम्मेदवार बनाएको उनको भनाई छ। अहिले आएको धोखा दिए पनि देउवा पक्षले जित्ने सुब्बाको दाबी छ।








































































