धरान : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा तिलक राईले उम्मेदवारी दिएका छन् । संस्थापन इतर प्यानलका राईलाई संस्थापन (शेरबहादुर देउवा) प्यानलले समर्थन गर्ने भएको हो ।
धरान उपमहानगरपालिकाको अधिवेशनमा देउवा पक्षका किशोर राईलाई नगर सभापतिमा हराउन लागेका उनी उनै किशोरको समर्थनमा क्षेत्रीय सभापतिका उम्मेदवार भएका हुन् ।
इतर पक्षबाट क्षेत्रीय सभापतिका आकाङ्क्षी रहेका हालका जिल्ला सचिव सुजेन्द्र तामाङले नछाड्ने भएपछि राई देउवा प्यानलको समर्थनमा क्षेत्रीय सभापतिको उम्मेदवार भएका हुन् । राईकै समर्थनमा उपमहानगर सभापति निर्वाचित भएका इतर पक्षका श्याम पोखरेलले भने तामाङलाई समर्थन गर्ने भएका छन् ।
निवर्तमान उपमहानगर सभापति समेत रहेका राई धरानका मेयर समेत हुन् । हालको क्षेत्रीय प्रतिनिधिको हिसाबमा कमजोर अवस्थामा देखिएको देउवा प्यानलमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आफ्नो पक्षका क्षेत्रीय प्रतिनिधि र देउवा टिमको मत पाए निर्वाचन जित्न सकिने उनको बुझाई छ ।
यसअघि संस्थापन पक्षको उम्मेदवारको रूपमा हेरिएका पूर्ण सुवेदीले राईको लागी छाड्न तयार भएका हुन् । सुवेदीका अनुसार राईले संस्थापन पक्षका साथीहरू सँग मिलेर अगाडी बढ्ने भएपछि समर्थन गर्नुपरेको हो । सुरेशमान श्रेष्ठ र राई स्वयम् आएर आग्रह गरेपछि सहयोग गर्ने निर्णय गरिएको उनको भनाई छ ।
उता राईले पनि संस्थापन पक्षमा गएको नभएर उनीहरूले समर्थन मात्र गरेको बताएका छन्। आफूले कुनै गुटउपगुट परिवर्तन नगरेको उल्लेख गर्दै उनले क्षेत्रीय सभापतिमा संस्थापन पक्षले सहयोग गर्ने बाचा गरेको बताए। हिजो नगर समितिको निर्वाचनमा आफ्नो प्यानल प्रस्ट भएकाले अहिले पनि त्यही टिममा रहेको उनको भनाई छ।








































































