धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज धरान र इटहरीका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार आज धरान १७ का ५४ वर्षीय महिलाको आज दिउसो १२ बजे उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको हो । साउन १५ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पहिले देखिनै दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी आज बिहान १०ः४५ बजे इटहरी १ का ७८ वर्षीय वृद्ध पुरुषको पनि उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई साउन २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पनि पहिले देखिनै दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।