धरान : अन्नपूर्ण पोस्ट दैनिकमा ‘सर्दुको १८२ बिघा फिर्ता’ शीर्षकको समाचारमा नेकपा (माओवादी केन्द्र) धरान नगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेठ ४ गते प्रकाशित समाचारमा नेताहरू माथि भ्रमपूर्ण आरोप लगाएको भन्दै माओवादी केन्द्रले खण्डन गरेको हो ।
समाचारमा आरोपितको भनाई राख्नुपर्ने सामान्य पत्रकारिताको धर्म पनि पुरा नगरिएकोले समाचारको अङ्ग नपुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समाचारमा आरोपितको भनाई नराखिएकोमा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
“यस प्रकारको असन्तुलित, कपोलकल्पित समाचारको भ्रममा नपर्न पनि पार्टी पङ्क्तिसहित सबै सरोकारवालाहरूसँग हार्दिक अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । विना प्रमाण कसैको भनाई सापटी लिएर वा कल्पनाको कलम दौडाएर मानमर्दन गर्नु उपयुक्त नभएको ठहर गरिएको छ ।
जेठ १७ गते विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले समाचारमा सुरेश कुमार राई (हिमाल), मुक्सामहाङ मेन्याङ्वो (मुकेश) र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम उल्लेख भएकोमा आपत्ति जनाएको छ । माफिया सँग मिलेर जग्गासहित मोटो रकम लिएको समाचार प्रकाशित हुनु गलत भएको माओवादी केन्द्रको ठहर छ ।
धरान नगर सचिव सुदर्शन श्रेष्ठ द्वारा जारी विज्ञप्तिमा समाचारमा आएजस्तो सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता भएको विषय कार्यान्वयनको तहमा नपुगेको बताइएको छ ।
माननीय मन्त्रीको व्यक्तिगत स्तरबाट मात्र निर्णय भई जग्गाको लगत उठाउने र जलाधारको नाममा स्रेस्ता कायम गर्ने पत्राचार भएको माओवादी केन्द्रले बताएको छ ।
“धरानवासीको ‘लाइफ लाइन’मा परेको खानेपानीको स्रोत बचाउन अझै पनि हाम्रो पार्टी दृढतापूर्वक लाग्ने प्रतिबद्धता दोहो¥याउन चाहान्छौं । विगतमा पनि हाम्रै पार्टी र धरान नगरपालिकाको सह-संयोजनमा जनप्रतिनिधि सहभागी बनेको सर्वदलीय, सर्वपक्षीय ‘धरान एकीकृत जलाधार संरक्षण खानेपानी व्यवस्थापन समिति’ले कानुनी तथा अन्य लडाइ लडेको सर्वविदितै छ,” विज्ञप्तिमा भनिएको छ ।








































































