इटहरी : इटहरीमा ५० शय्याको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ ।

इटहरी उपमहानगरले सञ्चालन गर्न लागेको आइसोलेसन अबको तीन दिन भित्रमा तयार भइसक्ने गरी तयारी तीव्र पारिएको हो । इटहरी ९ रङ्गशालामा गत वर्ष सञ्चालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो ।

आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष सङ्क्रमितका लागि अलग अलग स्थानको व्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । आइसोलेसनमा स्नान गृह, शौचालय, खानेपानी, वाई फाइ समेतको सुविधा हुने छ ।

खानपानको व्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन सञ्चालनमा ल्याइने उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख घनश्याम सिग्देलले बताए । आइसोलेसनमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सफाइकर्मीको टोली परिचालन गरिने छ । 

इटहरीका निजी अस्पतालले कोभिडका लागि पाँच बेड छुट्टाउने

कोभिड सङ्क्रमण वढदै गएको वेला इटहरी उपमहानगरले इटहरीका निजी अस्पतालहरूसँग कोभिड उपचारका लागि पाँच बेड छुट्ट्याउने विषयमा छलफल गरेको छ ।

इटहरीमा १५ बेड सम्म सञ्चालन भएका अस्पतालहरू सँग छलफल गरिएको हो । छलफलमा कोभिड सङ्क्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शय्या कोभिड उपचारमा छुटाउन उपमहानगरले गरेको प्रस्तावमा निजी अस्पतालहरू सकारात्मक देखिएका छन् ।

व्यवस्थापकहरू बिच आन्तरिक छलफल गरेर अर्को बैठकमा निर्णय दिइने निजी अस्पताल सञ्चालकहरूले बताएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले बताए ।

निजी अस्पतालमा छुट्टै फिवर क्लिनिक राखेर अन्य बिरामी र कोभिडका बिरामीलाई सुरक्षित साथ उपचार गराउन तयारीमा लाग्न उपमहानगरले निजी अस्पतालसँग प्रस्ताव गरेको हो । छलफलमा इटहरीको सामुदायिक,मेदान्त,एपेक्स र पशुपति मोडल अस्पतालका सञ्चालकको सहभागिता थियो ।

यसैबिच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीमा रहेका अक्सिजन उद्योगहरूको अनुगमन गरिएको छ । इटहरीका दुई वटा अक्सिजन उद्योगको अनुगमन पछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने बताएकी छिन् ।

Itahari-Isolation-1