इटहरी : प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचारको क्रममा अग्रमोर्चामा खटिनेहरूको मृत्यु भए २५ लाख दिने भएको छ। बुधवार बसेको प्रदेश १ मन्त्रीपरिषद्को बैठकले तलब बराबरको ५० प्रतिशत जोखिम भत्ता सहित मृत्यु भए २५ लाख दिने निर्णय गरेको हो ।

कोरोना पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा खटिएकाहरुको कोरोनाको कारण मृत्यु हुनेले सो रकम पाउने भएका छन् ।

प्रदेश सरकारले खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोरोना सङ्क्रमणका कारणबाट मृत्यु भएको परिवारलाई उक्त रकम हस्तान्तरण गरिने भएको हो।

कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीले जोखिम भत्ता पाउने भएका छन् ।

कोरोना रोकथाम र निदानमा खटिएका कर्मचारी सङ्क्रमित भई बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश नं १ सरकारको आज वैशाख २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

१. प्रदेश सरकारद्वारा खटाई कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ‌ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड-१९ का कारणबाट मृत्यु भएमा निजको परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट रू. २५,००,०००/– (पच्चिस लाख रूपैयाँ) प्रदान गर्ने ।

२. प्रदेश सरकारद्वारा खटाई कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ‌ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू कोभिड-१९ बाट संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने। साथै, यसरी कोभिड-१९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने ।

३. कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलव स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने।

४. कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टिन बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरूका लागि प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजा सहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्ने।

५. उपर्युक्त बमोजिमको क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने।