विराटनगर : युवा सङ्घ नेपाल (नेपाल पक्ष) विराटनगर कमिटीले बुधवार विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ पिन्ट रगत सङ्कलन गरेको छ।
रक्त सञ्चार केन्द्रमा समेत रगतको चरम अभाव भइरहेको समयमा युवा सङ्घले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत सङ्कलन गरेको हो ।सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र विराटनगरलाई बिहीबार उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष शुरेन शाक्यले बताए।
अध्यक्ष शाक्यले महामारीका कारण रक्तदान कार्यक्रम नहुँदा बिरामीलाई आवश्यक पर्ने रगत पाउन समेत कठिनको अहिलेको अवस्थामा थोरै भए पनि यसले सहजता थपिने बताए।
नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार केन्द्र विराटनगरका प्राविधिक इन्चार्ज शिवनन्द यादवले केही दिनयताबाट केन्द्र समेत रगतको चरम अभावका कारण माग अनुसार रगत उपलब्ध गराउन नसकिरहेको अवस्थामा युवा संघले आयोजना गरी सङ्कलित गरेको रगतले थोरबहुत भए पनि राहत मिल्ने बताए।
उनले विभिन्न सामाजिक सङ्घ सस्थालाई पनि रक्तदान कार्यक्रम आयोजना गरी दिन अपिल समेत गरे । कोरोनाको कहरका कारण डरले पूर्व तयारीका रक्तदान कार्यक्रम स्थगित हुँदा केन्द्रमा रगतको अभाव चुलिएको यादवको भनाई छ।
विशेष गरी दुर्घटनामा पर्ने, रक्तस्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीहरूका आफन्त रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको प्राविधिक इन्चार्ज यादवले जानकारी दिए।
केही महिना अघिसम्म पर्याप्त रक्त संकलन गरे पनि विगत तिन साता यतादेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँ पनि अहिले रगतको स्टक समस्यामा परेको उनले बताए।
रगतको माग भइरहेकोले रक्तदाता, सङ्घसंस्था र रेडक्रसका निकायहरूले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने प्राविधिक इन्चार्ज यादवले भनाई छ ।








































































