धरान : झापा र उर्लाबारीबाट लागुऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

झापामा ब्राउनसुगर सहित झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ वर्षीय सञ्जय लामा रहेका छन् । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउसो पौने २ बजे कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ ।

पक्राउ परेका लामा माथि जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी उर्लाबारी–३ थापा चौक बस्ने ३८ वर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । उनलाई आइतबार दिउसो २ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के.जी. भन्दा बढी गाँजा सहित पक्राउ गरेको हो ।

धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाट मुनी जेब्रा झोलामा लुकाई राखेको १/१ के.जी.को ४ पोका र खुल्ला अवस्थामा रहेको ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।