झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम विरुद्ध झापाली पत्रकारहरूले आज बिर्तामोडमा प्रदर्शन गरेका छन् ।
बिर्तामोडको मुक्तिचोकमा भेला भएका झापाली पत्रकारहरूले विभिन्न नाराका प्लेकार्ड लिएर नाराबाजी गर्दै र्याली प्रदर्शन गरेका थिए । पत्रकारहरूले प्रेस विरोधी कानुन फिर्ता गर, संविधानको रक्षा गर, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।
प्रेस युनियन झापा तथा प्रेस सङ्गठन नेपाल झापाले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज, नारी सञ्चार गृह आदिवासी पत्रकार सङ्घ सहित विभिन्न पत्रकारजन्य सङ्घ सङ्गठनले ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा अध्यक्ष तारामणि सापकोटा, महासङ्घ प्रदेश १ का सदस्य तीर्थ सिग्देल, महासङ्घका पूर्व अध्यक्ष कृष्ण हुमागाईँ, महासङ्घका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस सङ्गठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार महासङ्घ फोनिजका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस सङ्गठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा सिवाकोटी लगायतले ओलीको प्रतिगमन विरुद्ध बोलेका थिए ।
कार्यक्रममा पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरी, पत्रकार राजेन्द्र गौतम, देशराज नेम्वाङ सहित एक सय बढी झापाली पत्रकारहरू सहभागी थिए ।
प्रेस सङ्गठन झापाका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा प्रदर्शन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीले गरेकी थिइन् ।








































































