झापा : झापामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले यति बेला विभिन्न उपायहरू अपनाउन थालेको छ ।
यसै क्रममा झापा प्रहरीले हिजो बिर्तामोडमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण गराएको छ । जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनिले बिर्तामोड नगरपालिकासँगको समन्वयमा चालकहरूको स्वास्थ्य परीक्षण गराएको हो ।
दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा ७५ जना चालकहरूको आँखा र कान परीक्षण गराइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् । सवारी दुर्घटनाको मुख्य कारक नै मानवीय त्रुटि भएकाले यस्ता समस्या हल गराउन झापा प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रहरी उपरीक्षक भट्टराईको भनाइ छ ।
यस्तै, सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राबिधक सहयोगमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । रक्तदानमा ४३ पिन्ट रगत सङ्कलन भएको बताइएको छ । झापामा पछिल्लो समय भएका सवारी दुर्घटना मध्ये ८० प्रतिशत दुर्घटना मानवीय त्रुटिकै कारण भएको एक अध्ययनले देखाएको छ ।
यस्ता समस्या हल गर्न झापा प्रहरीले यति बेला हाइवे चेकिङमा कडाइसँगै सरप्राईज चेकिङको अवधारणालाई पनि अघि सारेको झापा प्रहरी प्रमुख भट्टराईले जानकारी दिएका छन् ।








































































