इटहरी : नेपाली काँग्रेस प्रदेश १ संसदिय दलका नेता राजीव कोइरालाले प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदम विरुद्ध सडकमा जानुपर्ने बताए । अहिले केन्द्रीय समितिले खास निर्णय गर्न नसकेको अवस्थामा काँग्रेसले आन्दोलन सँगै निर्वाचनको तयारी थाल्नुपर्ने बताए ।

प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अहिले प्रदेश १ मा पनि नेकपा भित्र अल्पमत र बहुमतको खेल सुरु भएकोले काँग्रेसको निर्णयको पर्खाइमा रहेको बताए । नेकपाका दुवै समूह सँग बहुमत नभएकोले काँग्रेस निर्णायक हुने उनको भनाइ छ ।

'प्रदेशमा नेकपाका दुवै समूह सँग वार्ता भइरहेको छ । केन्द्रले निर्देशन दिएपछि अगाडि बढ्ने सोचिरा छौ ।, उनले भने, 'कि त हामीलाई निर्णय गर्ने अधिकार दिनुपर्‍यो हैन भने हामीले के गर्ने निर्देशन दिनुपर्‍यो ।'

'अहिले मुलुक दुर्घटनामा गएको बेला सरकारमा जाने कुरा लाजमर्दो हुन्छ । नेकपा सरकारले पारेको फोहोर सफा गर्न काँग्रेस सरकारमा जाँदैन' उनले भने ।