इटहरी : नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय युवाहरूको भेला भव्यताका साथ चलिरहेको थियो । चिनजानका नजिकका युवाहरू आ-आफ्नो झुन्डमा गफिँदै थिए । सभाहलमा बेजोडका साथ भाषण भइरहेको थियो ।
हजार बढी युवाहरूको माझमा केही फरक हुलियाका युवाहरू यताउता गरिरहेका थिए । त्यही हुलमा थिए प्रदीप ऋषिदेव । जाडोको मौसम भए पनि पातलो एकसरो कपडामा देखिएका उनलाई आफू कुन कार्यक्रममा आएको समेत हेक्का छैन । कुन पार्टीको भेला हो र किन आएको समेत जानकारी नपाएका उनी गाउँको दाइले जानुपर्छ भनेपछि हिँडेको बताउँछन् ।
सुन्दरहरैचा-६ घर बताउने ऋषिदेव सँगै उभिएका अन्य ६ जना युवाहरू कसैलाई आफू कुन पार्टीको कार्यक्रममा आएको थाहा छैन ।
त्यसको केही पूर्वपट्टि त्यस्तै अर्को समूह छ । १४/१५ वर्ष उमेरका जस्ता देखिने किशोरहरू एक भएर उभिइरहेका छन् । यो कुन पार्टीको कार्यक्रम हो भन्दा उनीहरू केही थाहा नभएको बताउँछन् । त्यही बिचमा भेटिएका भगीरथ भरत अलिक जान्ने बुझ्ने जस्ता देखिन्छन् । तर उनलाई पनि पार्टी र कार्यक्रम बारे केही जानकारी छैन ।
डम्बर थापा मगरको समस्या पनि त्यस्तै छ । नेकपाको कार्यक्रम कस्तो लाग्यो भन्दा उनी आफै एमालेको कार्यक्रममा दाइहरूले ल्याएको बताउँछन् । सुन्दरहरैचा-६ कै उनी पार्टी सार्टी केही थाहा नभएको स्विकार गर्छन् । इन्द्र बहादुर श्रेष्ठलाई कुनै पनि पार्टीको पुरा नाम थाहा छैन । नेकपा भनेको के हो उनले अहिले सम्म बुझेका छैनन् । तर उनी आफ्नो नामको ब्याच लगाएर निकै डटफट गरिरहेका छन् । सुन्दरहरैचा-४ का उनी पार्टी भन्दा पनि साथीभाइको लागी आइदिएको तर्क गर्छन् ।
सिग्देल बन्धु भवनको प्राङ्गणमै एउटा मन्दिर छ । सोही मन्दिरको बाहिर एक बालक ब्याच लगाएर बसी रहेका छन् । आवेश पाण्डे नाम गरेका उनी डम्बर दाइको कारण कार्यक्रममा आएका हुन । अनेरास्वबियू युवासंघ केही पनि थाहा नपाएका उनी डम्बर दाइको पार्टीको कार्यकर्ता भएको बताउँछन् ।
नेकपाको पार्टी एकता अक्षुण राख्न युवा भेला आयोजना गरिएको दावी गरीए पनि सो भेलामा ओली पक्षीय युवाहरूको एकता भेला थियो । भेला एक औपचारिकता मात्र नभएर शक्ति प्रदर्शन पनि थियो । पछिल्लो समय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष ओली बिचको विवाद कार्यकर्तामाझ पुगेपछि शक्ति प्रदर्शनको खेल सुरु भएको हो । सत्ता र कार्यकर्ता दुवै तर्फबाट प्रचण्डलाई कमजोर बनाउने रणनीतिमा ओली देखिएका छन् ।
सोही बमोजिम मोरङको सुन्दरहरैचामा आयोजना गरिएको भेलामा उपस्थित केही युवाहरू पार्टी र स्वयम् ओली लाई पनि चिन्न नसक्ने अवस्थाका थिए ।
सङ्ख्या देखाउनकै लागी गाउँबाट ल्याइएका उनीहरू राजनीति प्रति बेखबर श्रमिकहरू थिए ।









































































