धरान:अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले आगामी सिजनमा धरानले राष्ट्रिय लिग खेल्ने घोषणा गरेका छन् ।
२१ औं बुढासुब्बा रेडबुल गोल्डकपको आय व्यय सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले धरानले राष्ट्रिय लिग खेल्ने मात्र नभै च्याम्पियन पनि बन्ने दाबी गरे । यसको लागि धरान फुटबल क्लबलाई सबैले साथ सहयोग गर्न पनि उनले आग्रह गरे । ‘यो सिजनमा धरानले राष्ट्रिय लिग खेल्छ, यसको लागि सबैले साथमा साथ र काँधमा काँध मिलाउनुहुनेछ भन्ने आशा लिएका छौं,’राईले भने,‘हामी राष्ट्रिय लिग खेल्ने मात्र होइन, च्याम्पियन पनि बन्नेछ ।’ उनले जिल्ला, प्रदेश लिग खेल्दै धरान फुटबल क्लबले राष्ट्रिय लिगमा पनि सहभागिता जनाउने निश्चित भएको बताए ।

अध्यक्ष राईका अनुसार राष्ट्रिय लिग खेल्नको लागि तयार हुने धरानको टिममा ५० प्रतिशत स्थानीय प्रतिभावान खेलाडीहरुलाई अवसर दिइनेछ । ती खेलाडीहरुसँग सम्झौता गरेर नै धरानको टिममा राखिने उनले बताए । ‘फुटबललाई हामी व्यवसायिक गराउनेछौ, खेलाडीहरुलाई सम्झौता गरेर पैसा दिएर नै धरानको टिमबाट खेलाउछौ,’राईले भने,‘यो अभियानमा सबैको साथ हुनेछ भन्ने अपेक्षा गरेका छौ ।’
खेलकुदलाई व्यवसायिकरण गर्ने नीति बनाउन सरकारसँग आग्रह गर्दै राईले युवा खेलाडीहरुको भविष्य सुनिश्चित हुदा मात्र प्रतिफल आउने धारणा राखे । उनले भने,‘खेलकुद व्यवसायिक भयो भने, युवा खेलाडीहरुले कमाउन थाले भने परिवारमा पनि खुशी छाउछ, भविष्य पनि सुनिश्चित हुन्छ ।’गत माघ २६ गतेदेखि फागुन ४ गतेसम्म भएको २१ औं बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब उपविजेता भएको थियो । फाइनलमा क्यामरुनी क्लब डाउफिन्ससँग सडन डेथमा हारेपनि धरानले टिमले घरेलु दर्शकहरुको मन जितेको थियो । त्यसबेला आयोजकले धरानका स्थानीय युवा प्रतिभाशाली खेलाडीहरुलाई टिममा अवसर दिएको थियो ।


































































