धरान : खानेपानीको धारामा पानी नआएर हाहाकार मच्चिएपछि धरान वडा १, २, र १२ का स्थानियबासी आइतबार दिउँसो धरान उपमहानगरपालिका घेराउ गरेका छन् ।
उनीहरूले मेयर हर्क साम्पाङलाई कार्यकक्षमा घेराउ गरी महिना दिन देखी धारामा हावा मात्र आएको र हावाको बिल तिर्दै बसेको गुनासो सुनाए । धारामा पानी नआएको कारण किनेर पानी खानु परेकोले दैनिक जीवनयापनमा समस्या भएको बताए ।
‘हुनेखानेले ट्याङ्करको पानी खरिद गरिरहेका छन्, आर्थिक अवस्था कमजोर भएकाहरूले पानी नै खान नपाउने अवस्था आएको’ उनीहरूको भनाई थियो ।
मेयरको जवाफ :
मेयर साम्पाङले ‘पानीको अभाव भए कोकाहामा लागेको आगो मार्न आउनु अनि समस्या समाधान हुन्छ धारामा पानी आउँछ ।’ भनी गुनासो गर्न गएकाहरूलाई ठाडो जवाफ दिए ।
वितरणबाट समस्या भएको हो भने भरै देखि पानी आउँछ ढुक्क भएर जानुस्, समस्या आएका वडाहरूमा पानी वितरण गर्ने क्रममा कर्मचारीबाट गल्ती भएको हो भने कारबाही गर्ने बताए ।
उनले कोकाहाबाट ल्याइएको पाइपबाट दैनिक कति पानी आइरहेको छ र आगो लाग्दा कुन कुन वडामा पानीको अभाव भएको छ भन्ने बारेमा भने केही बताएनन् ।
वडाध्यक्ष आचार्यको भनाई :
धरान १ का वडाध्यक्ष यज्ञमणि आचार्यले वडामा खानेपानीको चरम अभाव हुँदा गुनासो थाम्न नसकेपछि मेयर साम्पाङ सँग गुनासो राख्न वडावासी लिएर आएको बताए । 
उनले भने ‘खानेपानी बोर्डमा १५ पटक सम्म डलिगेशन जाँदा पनि सुनवाइ नभएकोले बोर्डको पनि अध्यक्ष मेयरसँगै गुनासो राखिएको हो ।’ मेयर साम्पाङको जवाफले वडावासीको चित्त नबुझेको उनको भनाई थियो ।
पूर्व वडाध्यक्ष अधिकारीको भनाई :
dharan-roshan-Adhikariमेयरसँग पानीको गुनासो राखेर बाहिर निस्किए पछि पूर्व वडाध्यक्ष रोशन अधिकारीले भने ‘धरानेलाई खानेपानी खुवाउने प्रतिबद्धता जनाएर चुनाव चितेका मेयर साम्पाङले गैर जिम्मेवार अभिव्यक्ति दिए ।’
उनले कोकाहको पाईप आफै काट्ने आफै आगो लगाउने जनताको सेन्टिमेन्ट मात्र बटुल्ने काम मेयर साम्पाङ गरिरहेको आरोप लगाए। 
कोकाहाकै पाइपको पानीका कारण धरानमा खानेपानीको हाहाकार भएको हो त ? प्रश्न गर्दै अधिकारीले त्यो पाइपबाट कति पानी आउँछ, कहाँ जम्मा भएर वितरण हुन्छ भन्ने स्पष्ट जवाफ मेयरले नदिएको उनको भनाई छ।
राजनीतिक दलका प्रतिनिधि :
रास्वपाका नेता राजेशमान श्रेष्ठ पनि मेयर कार्यकक्ष घेराउमा पुगेका थिए । धरानवासी खानेपानीको सङ्कटमा परेपछि मेयर साम्पाङलाई ध्यानाकर्षण गराउन आएको बताउँदै भने ‘मेरै वडा धरान-१२ मा ३ महिना देखि धारामा पानी आएको छैन ।’
उनले भने मेयर साम्पाङले आश्वासन दिएर पठाएपछि प्लम्बर उचालेर प्रहरीमा उजुरी दिन लगाउने गरेको आफ्नै वडामा भएको घटना ताजै रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, सुनसरी अध्यक्ष उद्धव श्रेष्ठले घेराउमा गएकाहरूलाई मेयर राईले कार्यकक्षमा भित्र छिर्न नदिएकोमा आपत्ति जनाए।
उनले भने ‘पानीको समस्या हाल गर्छु भन्दै आएका मेयरले समस्या हल गर्नुको साटो गैर जिम्मेवार प्रवृत्ति देखाएको छ  ।’ 
धरान २ की वडा सदस्य सन्ध्या श्रेष्ठ : 
जनप्रतिनिधिहरू पनि खानेपानी सङ्कटमा परेका छन् । धरान २ वडावासीलाई खानेपानीको समस्या अत्यधिक भएको बताउँदै उनले भनिन् ‘बजार एरियामा जनसङ्ख्या अत्यधिक छ, पानीको अभावले गर्दा भाडामा बस्ने मजदुरी काम गर्नेहरू ठुलो समस्यामा परेका छन्।’