वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको वडा नं. २ लाई २०७८ सालमा नै 'देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा' गराउन सफल चतरा अस्पतालले अस्पतालबाट हुने सेवालाई बढाउँदै गएको छ ।
चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत 'बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा' र '२४ घण्टा नै चिकित्सकद्वारा आकस्मिक सेवा' लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ ।
चतरा अस्पतालले बिहीबारबाट दीर्घ (नसर्ने) रोग (सुगर, प्रेसर, मुटुरोग किड्नी रोग र दम) रोग सम्बन्धी क्लिनिक सेवाको समेत उपलब्ध गराउने भएको छ । उक्त सेवाको अस्पतालका संरक्षक समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् ।
नगरवासीलाई धेरै भन्दा धेरै स्वास्थ्य सेवा प्रदान गर्न लागि परेको नगर प्रमुख कार्कीले बताए । रोग लुकाएर बसेका नगरवासीहरूलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य संस्थाको विकास र क्षमता बढाउन लागि परेको उनले बताए । सीमित साधन र स्रोतको वाबजुत पनि नगरवासीहरूको चाहना र आवश्यकतालाई मध्यनजर गरेर काम गरी रहेको नगर प्रमुख कार्कीको भनाइ थियो ।
के.एच.डी. सी. नेपाल र चतरा अस्पतालको सहकार्यमा उक्त नसर्ने रोग (सुगर, प्रेसर, मुटुरोग किड्नी रोग र दम) क्लिनिक सेवा सुरु गरेको चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं २ का अध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।
चतरा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूको तथ्याङ्क अनुसार नसर्ने (दीर्घ ) रोगीको बिरामीहरूको सङ्ख्या बढ्दै गएको कारण उक्त नसर्ने रोग सम्बन्धी क्लिनिकको सेवा सुरु गरिएको अस्पतालका प्रवक्ता यम भण्डारीले बताए । नसर्ने रोग सम्बन्धी क्लिनिक सेवाका लागि चतरा अस्पतालमा के.एच.डी. सी. नेपाल एकजना चिकित्सक नवीन अधिकारीलाई नियुक्त गरेको छ ।
'जँचाऔँ, मिर्गौला मुटु बचाऔँ' मिर्गौला मुटु दाजुभाइ, एकको चोट अर्कोलाई जरुरी छ, प्राणलाई बचाइ राखौँ दुवैलाई भन्ने नारा दिएर चतरा अस्पताल मार्फत समुदायमा आधारित नसर्ने रोग सम्बन्धी क्लिनिक सुरु गरिएको के.एच.डी.सी. नेपालका संरक्षक प्राध्यापक डाक्टर सञ्जीव शर्माले बताए ।
अस्पतालबाट २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, प्रसूति, फिजोयोथेरापी सेवा, एम्बुलेन्स, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे, हरेक दिन स्त्री तथा प्रसूति, वार्ड भर्नासँगै सबै सरकारी नियमित सेवाहरू सञ्चालन भइरहेको अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले जानकारी दिएको छ ।
वडा नं २ स्थित वडा कार्यालयको सभाहलमा आयोजना भएको उक्त क्लिनिक समुद्घाटन समारोहमा नगर प्रमुख रमेश कार्की, नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वाल, के.एच.डी. सी. नेपालका संरक्षक प्राध्यापक डाक्टर सञ्जीव शर्मा, अध्यक्ष डाक्टर राजेन्द्र प्रसाद पोखरेल, चतरा अस्पतालका पूर्व अध्यक्ष होमकुमार शर्मा, डाक्टर नवीन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं.२ का अध्यक्ष होमप्रसाद गौतमको सभाध्यक्षयतामा आयोजना भएको उक्त समुद्घाटन कार्यक्रमको सञ्चालक अस्पताल व्यवस्थापन समितिका सदस्य गोकुल गुरागाईँले गरेका थिए ।


































































