धरान : रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गए राति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ ।
एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९।३ ओभरमा १४७ रनमा अलआउट भयो ।
बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३।४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । 
बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए । विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे ।
विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् । दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे । स्वप्निलले अन्तिम बलमा छक्का प्रहार गरेर टिमलाई जित दिलाए ।
बलिङतर्फ जोश लिटलले ४ विकेट लिए । नुर अहमदले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए ।
बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने ।
गएरातिको जितसँगै बैंग्लोरको ८ अङ्क भएको छ । बैंग्लोरले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंग्लोर अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ ।
उसले पन्जाब किङ्गस, मुम्बई इण्डियन्स र गुजरात टाइटन्सलाई पछि पार्न सफल भएको छ । मुम्बई इण्डियन्स ६ अङ्कसहित अन्तिम स्थानमा धकेलिएको छ ।