इटहरी : इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पस अन्तर्गतको रिसर्च म्यानेजमेन्ट कमिटीले तयार गरेको ‘जर्नल अफ जनता मल्टिपल क्याम्पस’ सार्वजनिक गरिएको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह निर्देशक प्राध्यापक डाक्टर गोविन्दप्रसाद गुरागाईँ, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी, जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसी,सञ्चालक समिति सदस्य द्वय शेखर लुइँटेल, शिवराज दाहाल, क्याम्पस प्रमुख डाक्टर गीता अधिकारी लगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 
क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र प्याकुरेल प्रधान सम्पादक रहेर तयार गरिएको जर्नलमा क्याम्पसमा अध्यापन गर्दै आएका प्राध्यापकका १५ वटा अनुसन्धानमूलक आलेख समेटिएका छन् । जर्नल बर्सेनि प्रकाशित हुँदै आएको छ ।
जर्नल प्रकाशितअघि जनता बहुमुखी क्याम्पसको पहलमा कोशी प्रदेशभित्रका विभिन्न कलेजका परीक्षा फाटमा कार्यरत कर्मचारीको एक दिने तालिम भएको छ । सो क्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीहरूलाई परीक्षा फारम भर्ने क्रममा गल्ती नगर्न विशेष सावधानी अपनाउन निर्देशन दिइयो ।
त्रिविका परीक्षा नियन्त्रक जोशीले फारममा नाम, विषयको कोड, भर्ना मिति लगायतका आधारभूत विवरणमा हुने सामान्य गल्तीले पनि ठुलो समस्या निम्त्याउने भएकाले गर्दा सावधानी अपनाउन निर्देशन दिइयो ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायोजनको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बि एड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ कुल पाँच हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।