धरान : एसइई दिएका विद्यार्थीका लागि आयोजित बास्केटबल प्रशिक्षण शिविरका सहभागीहरूलाई धरान उपमहानगरका मेयर हर्क साम्पाङले बिहीबार जर्सी वितरण गरेका छन् ।

प्रशिक्षण शिविरमा ६५ जना विद्यार्थी सहभागी छन् । शिविर धरान बास्केटबल सङ्घको नवौँ बास्केटबल ट्यालेन्ट हन्ट प्रशिक्षण शिविर हो ।

प्रमुख अतिथि मेयर साम्पाङले शिक्षा सँगै अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण रहेको बताए । सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बास्केटबलको खेलाडी उत्पादन तथा व्यावसायिक विकासका लागि ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए ।

प्रशिक्षण धरान १६ रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सञ्चालन हुँदैछ । जेठ १० गते देखि ३ हप्ता शिविरमा सहभागीहरूलाई बास्केटबलको प्रशिक्षण दिइने छ ।

उनीहरूलाई मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, राष्ट्रिय खेलाडी डा.आशा राई, आस्था राई, चिरञ्जीवी गिरि, युगल लिम्बु, निवा लिम्बु, पारुहाङ चेम्जोङ र हासिल श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

जर्सी वितरण कार्यक्रममा धरान-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण), पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल लगायत उपस्थित थिए ।