झापा : झापाको कनकाई नगरपालिका-३ एकान्त टोलका २२ बर्से युवक अभिषेक चौधरीको हत्यारालाई प्रहरीले घटनाको २४ घण्टा नबित्दै पक्राउ गरी सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीले आज बिहान पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका सोही नगरपालिका ७ का २२ वर्षीय रविन राजवंशी ९टल्के० लाई सार्वजनिक गरेको हो । चौधरीको शव बुधवार बिहान ६ बजे कनकाई नगरपालिका-३ एकान्त टोल नजिकै सुरुङा खोलाको बाँस घारीमा फेला परेको थियो ।

चौधरीलाई टल्केले बन्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरिसकेका छन् ।

गाँजा विवादले गयो ज्यान

मङ्गलवार राती अभिषेक र टल्के बिच भेट भएको थियो । अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्याएर टल्केलाई खान दिन्न भनेपछि उनले घरबाट बन्चरो ल्याई प्रहार गरेको प्रहरीको भनाई छ ।

मिलेर खानुपर्छ भन्दै लिन पठाएको तर ल्याएपछी दिन्न के गर्छस् भनेपछि उनीहरू बिच विवाद भएको अनुसन्धानमा खटिएका इप्रका बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

टल्के हिँडेपछि भुँइमा बसेर लागुऔषध बनाइरहेका चौधरीलाई पछाडिबाट बन्चरो प्रहार गरेर मारिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ बिर्तामोड प्रहरीले दिनभरमा हत्यामा संलग्नलाई पक्राउ गरेको छ ।

घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा टल्केलाई समातिएको हो । उनी विरुद्ध कर्तव्य मुद्दा लाग्ने प्रहरीले जानकारी दिएको छ ।