इटहरी : सङ्खुवासभाको खाँदबारी नगरपालिकाको खरिद प्रक्रियामा अनियमितता देखिएको छ । आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षण प्रतिवेदनले प्रत्येक खरिदमा प्रश्न उठाएको हो । औषधि देखि मोबाइल खरिदमा समेत नगरपालिकाको भूमिका शङ्कास्पद देखिएको छ ।

नगरपालिकाले औषधि खरिदमा समेत प्रश्न उठ्नेगरि प्रक्रिया अगाडी बढाएको छ । यसोधा फर्म र शंकरा कन्सर्न सँग १५ लाख ३४ हजार २९२ रुपैयाँको औषधि खरिद गरेको देखाएको पालिकाले खरिद प्रक्रिया नै नमिलेको महालेखाको ठहर छ । अपूर्ण सूचना प्रकाशित गरेको र औषधिको मौज्दातको हिसाब नराखेको कारण अनियमितताको आशङ्का गरिएको छ । शंकरा र यसोधा सँग मात्र तीन वटा फर्मको कोटेसन मागेर बारम्बार खरिद गर्ने गरेको पाइएको छ । सिलबन्दी दरभाउ पत्र मार्फत खरिद गर्नुपर्ने भए पनि खाँदबारी नगरपालिकाले त्यसतर्फ ध्यान नदिएको हो ।

तीन वटा मोटरसाइकल खरिद गर्दा १९ लाख २ हजार खर्च गरेको पाइएको छ । सङ्घीय सरकारले सशर्त अनुदानमा पठाएको रकमबाट दुई वटा ७ लाख ९८ हजारका र एउटा ३ लाख ४ हजार ९ सयको मोटरसाइकल खरिद गरिएको हो ।

अर्कातर्फ खरिदमा समेत चलाखीपूर्ण रूपमा एउटै सामान फरक-फरक मितिमा खरिद गरिएको छ । बोलपत्र आह्वान गरेर खरिद गर्नुपर्ने सामान सप्लायर्स सँगको मिलेमतोमा खरिद गरिएको हो । बज्राचार्य सप्लायर्स र कम्प्युटर्स होम एण्ड सप्लायर्ससँगको मिलेमतोमै कम्प्युटर, ल्यापटप लगायत सामान खरिद गरिएको छ ।

दुई वटा मोबाइल पनि दुई वटा सप्लायर्सलाई खरिदमा संलग्न गराइएको छ । २२ लाख ९० हजारको सामान खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि आर्थिक अनियमिततालाई प्रशय दिनेगरि नीतिगत भ्रष्टाचार गरिएको प्रस्ट छ । त्यस बाहेक वडा कार्यालयले तिनै सप्लायर्सबाट सोही प्रकृतिका सामान खरिद गरेको छ । ४ लाख ४९ हजार २१७ मूल्यका सामान वडा नम्बर १ र ३ ले खरिद गरेका छन्।१० थान मिनी ट्रिलर खरिद गर्दा ३३ लाख ८७ हजार नगरपालिकाले र २४ लाख ७७ हजार कृषकले तिरेका छन् । कुल ५५ लाख ६५ हजारको खरिदमा समेत बोलपत्र आह्वान गरिएको छैन । एउटै प्रकृतिका सामान ८ वटा सप्लायर्सबाट ४८ हजार देखि ७० हजार रुपैयाँ सम्म मूल्यमा खरिद गरिएका छन् । यसले सप्लायर्ससँगको मिलेमतो प्रस्ट पारेको छ ।

एउटै शिलपत्रको दरभाउ मूल्याङ्कन गर्दा जनप्रतिनिधि र कर्मचारीले १२ पटक सम्म बैठक बसेर प्रत्येक बैठकको भत्ता बुझेको पाइएको छ । एउटै बैठकबाट हुने कामलाई भत्ताकै लागि बारम्बार बैठक गरेर ९६ हजार भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कागजमा प्रत्येक बैठक बिहान ६ः३० र साँझ ५ः३० बजे देखाइएको छ ।

अर्कातर्फ कर्मचारीलाई प्रयोग गरेर आर्थिक अपारदर्शिता स्पष्ट भएको छ । कर्मचारीको खाजा र खाना बापत एकमुष्ट मुना राईको नाममा ५ लाख ९५ हजार भुक्तानी भएको छ । ग्याबीन जाली तथा ढुङ्गा भर्ने काममा ५३ हजार ४९३ बढी भुक्तानी भएकाले असुल गर्नुपर्ने भनी महालेखाले ठहर गरेको छ ।

खाँदबारी नगरपालिकामा आर्थिक वर्ष २०८१/८२ सम्म ४३ करोड ४४ लाख ३४ हजार बेरुजु देखिएको छ । एकबर्षमा मात्रै ३ करोड २२ लाख ४१ हजार ८०८ बेरुजु थप भएको हो ।