इटहरी : नेपाली पत्रकारीताका प्रभावशाली व्यक्ती हुन् ऋषि धमला । रेडियो र टेलिभिजनमा एकैसाथ प्रभावशाली छवि बनाएका उनी अहिले राजनीतिमा होमिएका छन् । उनको नेपाली बहस रेडियो कार्यक्रम चर्चित छ । प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रममा रोचक प्रस्तुतिले दर्शकलाई आकर्षित गर्छन् । कहिलेकाहीँ अतिथिहरू बिचमै झगडा परेका दृश्यहरू भाइरल भइरहेका हुन्छन् । पत्रकारितामा चर्चित अनुहार धमला रौतहट ४ मा आम जनता पार्टीको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार भएर चुनावी मैदानमा छन् । उनै धमलासँग कपुरीकर्मी विनय बाह्रकोटीले गरेको कुराकानी:  

सामाजिक सञ्जालमा तपाईँको चुनावी अभियानको अभिनय निक्कै भाइरल भइरहेको छ । नागरिकको कुरा पनि सुन्नुहुन्छ कि आफ्नो मात्रै सुनाउनुहुन्छ ? 

म भाइरल हुन यहाँ आएको हैन । यहाँ जनताको धेरै समस्या रहेछ । हेर्नुहोस् है । म किसानको समस्या लिएर चुनावमा होमिएको मान्छे हुँ । म कृषि प्रदान देशको एक जना नागरिक । म किसानको घर खेतमा पुगेको छु । म किसानको पिँडा सहन सक्दिन । किसानहरू उखु काटीरा छन् । किसानहरू उखु काट्दा मैलेपनि उखु काट्नुपर्छ ।  

पत्रकारिताबाट पनि किसानको मुद्दा उठाउन सक्नुहुन्थ्यो नि, किन चुनाव नै लड्नुपर्ने के आइलाग्यो ?

मैले पत्रकारिताबाट सबैभन्दा धेरै किसानको मुद्दा उठाएँ । म किसानका समस्यालाई नजिकबाट बुझेको मान्छे हुँ । मैले प्रश्न सोध्ने ठाउँबाट प्रश्न सोधेँ । प्रश्न सोधेर मात्र परिणाम आएन । उखु किसानले उखुको भाउ पाएनन् । किसानको पिडा धेरै देखेर चुनावमा होमिएको हुँ । 

एउटा माननीयले किसानको मुद्दा कसरी समाधान गर्न सक्छ ऋषि जी ? चुनाव जित्ने बित्तिकै तपाईँ मन्त्री नै बन्नुहुन्छ भन्ने के ग्यारेन्टी छ ? 

मैले पत्रकारको नाताले धेरै दबाब दिएँ । सरकारले सुनेन । माइतीघर मण्डलामा किसानको आन्दोलन हुँदा एकबद्धता जनाउन गएँ । अब मैले के सोचेँ भने, प्रश्न सोध्ने ठाउँबाट प्रश्नको जवाफ दिने ठाउँमा जानुपर्छ । 

चुनाव जितेपछि तपाई सञ्चार मन्त्री बन्नुहुन्छ कि कृषि मन्त्री ? 

म मन्त्री बन्न नै चाहन्न । मलाई मन्त्री बन्नु नै छैन । म देश बनाउन जाने हो । देशको नीति बनाउन जाने हो । नीति अनुसार काम भयो कि भएन भनेर संसदमा आवाज उठाउने हो । दबाब दिने हो । 

संसदीय व्यवस्थामा अङ्कगणितको खेल हुन्छ । एउटा सांसद हुँदैमा तपाईँले के त्यस्तो परिवर्तन गर्न सक्नु होला र ? 

म संसदीय व्यवस्थाको बारेमा जानकार छु । एउटा सांसदले चाह्यो भने धेरै काम गर्न सक्छ । पार्टीले सही एजेन्डा बोकेन भने पार्टीलाई पनि खबरदारी गर्ने हो । त्यो हिसाबमा अगाडी बढेको मान्छे हो ऋषि धमला । 

चुनाव जितेपछि तपाई संसदीय दलकै नेता बन्ने कुरा हो ?

म त्यस विषयमा अहिले भन्दिन । पछि भन्छु । म अरू धेरै शक्तिसँग कुरा गरिरहेको छु । के हुन्छ भन्ने बारे अहिल्यै खुलाउन चाहन्न । 

रेडियोका श्रोता र टेलिभिजनका दर्शकलाई तपाईँको अभाव खड्कीएको छ जस्तो लाग्दैन ? 

त्यो थाहा छ । जनतालाई खल्लो भएको छ । मैले पनि उत्तराधिकारी जन्माउने कोसिस गरेको छु । म उम्मेदवार भएपनि नेपाली पत्रकारीलाई माया गरिरहन्छु । 

चुनाव जित्नुभयो भने माननीय बन्नु होला, हार्नुभयो भने पुनः पत्रकारितामा फर्किने की रौतहट नै बस्ने ? 

ऋषि धमलालाई हार्ने छुट छैन । म हार्दिन । म मैदानमा होमिएको छु । जनताले जिताएर मात्र फर्काउँछन् । म रौतहटका मात्र हैन सबै नेपाली जनता सँगै हुन्छु । मलाई जनताले नै हार्ने छुट छैन भनेका छन् । म हार्ने कुरा गर्नै चाहन्न ।