सुनसरी : निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सन सुनसरीको दोस्रो जिल्ला परिषद् भेला इटहरीमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले नेपाली विद्यार्थी विदेशिनु रोक्न तल्लो कक्षादेखि नै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक भएकोमा जोड दिए।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा मंगलबार आयोजित भेलामा सहभागी वक्ताहरूले कक्षा १२ पछि पनि विद्यार्थीलाई स्वदेशमै उच्च अध्ययन गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे। कार्यक्रममा प्रमुख अतिथि तथा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले विद्यार्थीलाई देशमै रोक्ने वातावरण निर्माण गर्नु आजको अनिवार्य आवश्यकता भएको बताए।
'कक्षा १२ पछि पनि नेपाली विद्यार्थीलाई स्वदेशमै रोक्ने वातावरण बनाऔँ,' उनले भने, 'एकातिर जन्मदर घट्दै जाँदा निजी विद्यालय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको छ भने अर्कातिर इमानदार विद्यालय सञ्चालकलाई माफियाको ट्याग लगाइने प्रवृत्ति पनि बढिरहेको छ।'
पूर्व अध्यक्ष पुरीले अहिलेको पुस्तालाई भ्रष्टाचारी बनाउने कि सदाचारी नागरिक बनाउने जिम्मेवारी शिक्षककै हातमा रहेको उल्लेख गर्दै विवेकपूर्ण र मूल्ययुक्त शिक्षण आवश्यक रहेको बताए। 'विद्यार्थीलाई राजनीतिक दलको कार्यकर्ता बनाउने कि सक्षम नागरिक बनाउने निर्णय शिक्षककै हातमा छ,' उनले भने।
उनले सक्षम नेतृत्व र असल शासन व्यवस्थामा विश्वास व्यक्त गर्दै १०-१५ वर्षमै देशमा ठूलो सकारात्मक परिवर्तन सम्भव भएको र त्यसले शिक्षा क्षेत्रलाई समेत सुदृढ बनाउने धारणा राखे। 'अबको शिक्षा प्रणाली निर्वाचित संसद् र स्थिर सरकारमा निर्भर छ, उनले भने, राजनीतिक अस्थिरताले निजी शिक्षा क्षेत्रसमेत प्रभावित बनेको छ।'
कार्यक्रममा प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले वास्तविक समस्या नबुझीकन सरकार फेरिँदा फेरिँदै निजी विद्यालयलाई निसाना बनाइने प्रवृत्ति बढेको टिप्पणी गरे। त्यस्तै, प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर (नेशनल) ढकालले नीति निर्माण तहमा शिक्षा क्षेत्रबारे गहिरो समझ भएका व्यक्तिको अभावका कारण समस्या उत्पन्न भएको बताए। उनले निजी विद्यालयले पनि पुरानै शैली छोडेर समयानुकूल सुधार नगरी गुणस्तरीय शिक्षा दिन नसकिने स्पष्ट पारे।
कार्यक्रमको अवसरमा प्याब्सन सुनसरीले शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा ४ जिपिए प्राप्त गर्ने तीन विद्यार्थीलाई नगद १० हजार १ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ। सम्मानित विद्यार्थीहरूमा इटहरी ५ स्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी मिशु प्रधान, इनरुवास्थित नवयुग एकेडेमीका सुदिस सुवेदी र प्रगान पोखरेल रहेका छन्।
प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिपक कार्कीले गरेका थिए।


































































