झापा : झापाको शिवसताक्षी नगरपालिका-१० कन्काई नदीको पश्चिम किनारमा अवस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रममा निर्माणाधीन ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधीन ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’को आगामी २०८३ वैशाख ११ देखि १८ गतेसम्म प्रतिष्ठा /उद्घाटन समारोह आयोजना गरिने भएको हो ।

संस्थाले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै दक्षिण भारतीय स्थापत्य शैलीमा निर्माण भइरहेको श्रीलक्ष्मीनारायण दिव्यदेशको प्रतिष्ठा समारोहलाई ऐतिहासिक धार्मिक महोत्सवका रूपमा मनाउने तयारी भइरहेको जनाएको छ ।

उक्त समारोहमा भारतको तमिलनाडु राज्यस्थित श्रीकाञ्ची प्रतिवादी भयङ्कर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराजको प्रमुख आचार्यत्व रहनेछ । नेपाल, भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशबाट सयौँ धर्माचार्य, सन्त, महन्त, विद्वान् र हजारौँ भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

२०७८ वैशाख १६ गते शिलान्यास गरी सुरु गरिएको दक्षिण भारतीय शैलीको दिव्यदेश मन्दिर करिब ९ करोड लागतमा भक्तजन र दाताहरूको सहयोगमा बनेको हो ।

मन्दिरको भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकारको सहरी विकास मन्त्रालयबाट २५ लाख सहयोग प्राप्त भएको पनि संस्थाले जनाएको छ । अझै बाँकी साजसज्जा र मूर्तिहरूको प्रतिष्ठाका लागि थप २ करोड र प्रतिष्ठा समारोह सम्पन्न गर्न ३ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

संस्थाका अनुसार मन्दिरमा हालसम्म एक दर्जनभन्दा बढी पत्थर मूर्ति र दुई दर्जनभन्दा बढी धातु मूर्ति ल्याइइसेका छन् । प्रत्येक वर्ष देश-विदेशबाट झन्डै दशौं हजार भक्तजन आउने गरेका छन्, जसले धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा उल्लेख्य योगदान दिइरहेको संस्थाको दाबी छ ।

श्रीलक्ष्मीनारायण मन्दिर वि.सं. २०२८ मा स्थापना भई २०५१ सालमा औपचारिक रूपमा दर्ता गरिएको हो । नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मुख्य अभिमत प्राप्त यस संस्थाले नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशका मठ-मन्दिरहरूको मठीय अभिभावकत्व गर्दै आएको छ ।

संस्थाले तीनै तहका सरकार, उदार उद्योगी-व्यवसायी, पत्रकार, समाजसेवी र देशविदेशमा रहेका सबै भगवद्भक्त र वैष्णव समुदायलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दै प्रतिष्ठा समारोहलाई भव्य बनाउन सबै पक्षको साथ र सहभागिता अपेक्षा गरेको छ ।

jhapa-mandir