धरान : सडकमा जीवन बिताइरहेका आश्रय विहीनहरूका लागि धरामा मानव सेवा आश्रमले २१ औँ शाखा सञ्चालन गरेको छ ।

धरान–१६ स्थित आश्रमको नयाँ भवनमा बुधवार देखी सेवा प्रारम्भ गरिएको हो । पहिलो चरणमा सडकबाट उद्धार गरिएका २० जनालाई गृह प्रवेश गराएर सेवा औपचारिक रूपमा सञ्चालन गरिएको आश्रमले जनाएको छ । आश्रममा ७० जना सम्म राख्न सकिने बताइएको छ ।

आश्रमको उद्घाटन धरान नगर प्रमुख हर्क साम्पाङले गरेका हुन । उक्त अवसरमा धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई, धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्य, नेकपा माओवादी केन्द्र अध्यक्ष उद्धव लिम्बू, जसपा अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका सहसचिव रिकेश विश्वकर्मा उद्धार गरिएका आश्रीतहरुलाई फूल मालाले स्वागत गरे ।

आश्रमका होमनाथ तिम्सिनाले भने ‘हिजो बेलुका मात्रै धरानको सडकबाट ५ जनाको उद्धार गरिएको छ, यसअघि उद्धार गरी विराटनगर पठाइएकाहरूलाई पनि अब धरानमै राखिने छ ।’ उनका अनुसार सेवा केन्द्रमा आश्रित धेरै जना मानसिक रूपमा असन्तुलित छन् ।

उनीहरू मध्ये कोही आफ्नै परिचय दिन नसक्ने छन् भने कोहीले झूटो नाम–ठेगाना बताउँछन् । उनले भने ‘उनीहरूको अवस्था सुधार भएपछि परिवारसँग पुनर्स्थापना गराइनेछ ।’ हाल आश्रममा पुरुषहरू मात्रै छन् । महिलाहरूका लागि छुट्टै व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

यसअघि धरानका सडकमा बेवारिसे अवस्थामा भेटिएकाहरूलाई इटहरी स्थित माया घर वा विराटनगर स्थित मानव सेवा आश्रम पठाउने गरिएको थियो । अब धरानमै आश्रय दिन सकिने भएको छ । आश्रम दाताहरूको सहयोग र सरकारी निकायको सहकार्यमा सञ्चालन भएको बताइएको छ ।

आश्रम उद्घाटनको अवसरमा दाता दाता शान्ता रिजाल र भैरव रिजाललाई सम्मान गरिएको थियो ।

manb-asram-1