धरान : इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी भिषणबाबु राईले इन्चार्जको पदभार सम्हालेका छन् । डिएसपी प्रकाश जवेगुले सरुवा भई रवाना हुन अघि बिहीबार साँझ राईलाई कार्यभार जिम्मा लगाएका हुन ।
शान्ति र सद्भावको उदाहरणीय सहर धरानमा भदौ २४ गते जेनजी प्रदर्शन सकिए लगत्तै जेनजीको नाममा तोडफोड, आगजनी र भाटभटेनीमा लुटपाट सम्म भएको थियो । उक्त घट्नाले धरान आतङ्कित बनेपछि शान्ति सुरक्षाको चिन्ता विद्यमान रहेको बेला नयाँ डिएसपी भिषणबाबु राई इलाका प्रहरीको कमाण्ड सम्हाल्न आइपुगेका हुन ।
उनलाई धरानका राजनीतिक दलका नेताहरू, वडाध्यक्ष र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूले इलाका प्रहरी कार्यालयमा हार्दिकता पूर्वक स्वागत गरेका थिए ।
जेनजी आन्दोलनका नाममा धरानमा पार्टी कार्यालयहरू, पूर्व जनप्रतिनिधि र नेताहरूको घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । उक्त घटनामा नगरप्रमुख हर्क साम्पाङ निकट सहयोगीहरू संलग्न रहेको आरोप राजनीतिक दलहरूले आरोप लगाएको छ ।
धरान नगर प्रमुखमा साम्पाङ निर्वाचित भए यता राजनीतिक दलहरू र प्रमुख बिच सहकार्य हुन सकेको छैन । यसबाट अन्य नगरपालिकाहरू भन्दा धरानको राजनीतिक अवस्था फरक रहेको छ । राजनीतिक तिक्तताको प्रभावबाट सामाजिक वातावरणलाई मुक्त राख्ने दायित्व नयाँ डिएसपी राईको काँधमा आएको सरोकारवालाहरू बताउँछन् ।
धरानको मुख्य समस्या लागुऔषध कारोबार र दुर्व्यसन नियन्त्रण मानिँदै आएको धरानमा जेनजीको नाममा हुनसक्ने गतिविधि शान्ति सुरक्षाका लागि चुनौती हुन सक्ने भएकाले त्यस तर्फ सजग रहन नयाँ डिएसपी राईलाई सुझाव दिइएको बताइएको छ ।