धरान : धरानबाट सरुवा भई प्रस्थान गर्न लागेका इलाका प्रहरी कार्यालय धरानका इन्चार्ज डिएसपी प्रकाश जवेगुले धार्मिक, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण धरानमा पछिल्लो समय शान्ति सुरक्षाको चुनौती बढेको बताएका छन् ।

उनको नियमित सरुवा जिल्ला प्रहरी परिसर भक्तपुरमा भएको छ । उनी धरानबाट प्रस्थान गर्न अघि बुधवार नेपाल पत्रकार महासङ्घ सुनसरीका पत्रकारहरूसँग भएको भेटघाटमा उनले धरानको प्रमुख समस्या लागुऔषध भएको बताउँदै सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक सद्भाव कायम रहेको धरानमा पछिल्लो समय अपराध नियन्त्रण र शान्ति सुरक्षाको चुनौती बढेको बताए ।

उनले भने ‘मेरो कार्यकालमा सद्भाव कायम राख्न सफलता हासिल भयो ।’ हालैको जेनजी आन्दोलनलाई सन्तुलनमा राख्न गर्न प्रहरीले खेल्ने भूमिकाको सूचकाङ्क आफ्नो कार्यकालमा उच्च रहेको उनले बताए ।

आफ्नो १४ महिनाको कार्यकालमा धरानका पत्रकार, मिडियाकर्मीसँग राम्रो र सहज सहकार्य भएको बताउँदै समाचार लेखेकै कारण पत्रकारलाई धम्की दिने जस्तो प्रेस स्वतन्त्रता विरोधी कार्यलाई निस्तेज गराउन आफूले भूमिका निर्वाह गरेको उनले बताए । डिएसपी जवेगुले भने ‘पत्रकारहरूको सुरक्षाप्रति प्रहरी गम्भीर रहँदै आएको छ र नयाँ इन्चार्जबाट पनि त्यसलाई निरन्तरता दिइने छ ।’

उनले २०८१ साउन १ गते देखि इलाका प्रहरी कार्यालय धरानको नेतृत्व सम्हालेका थिए । उनको कार्यकालमा १० उत्कृष्ट कार्य भएको दाबी गरिएको छ । धरानमा बढ्दो सहरीकरण सँगै अपराध नियन्त्रण, लागूपदार्थ दुर्व्यसनी र शान्ति सुरक्षाको चुनौतीको सामना गर्दै नयाँ तथा पुराना मुद्दाहरू फर्छ्यौट भएका छन् ।

तथ्याङ्क अनुसार ५३४ वटा मुद्दाहरू दर्ता भए । त्यसमध्ये ३९० वटा मुद्दा किनारा लगाइएको छ । २ वर्ष हद म्याद भई अनुसन्धानका क्रममा रहेका १४४ मुद्दा कारबाहीको क्रममा छन् । उक्त अवधिमा धरानका विभिन्न स्थानहरूबाट लागुऔषध, गाँजा कारोबारी र अवैध हातहतियार सहितका आपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो ।

डिएसपी जवेगुले पत्रकारहरूसँग भने ‘सबै क्षेत्रबाट प्राप्त सहयोग सहकार्यले अझ धरानै बस्न मन थियो, छोडेर जान मन तँ छैन तर प्रहरीको जागिर यस्तै हुन्छ, यहाँ रहँदा अरू तिर भन्दा कार्यकाल सन्तोषजनक रहेको अनुभव गरेको छु ।’

उनको कार्यकालमा इलाका प्रहरीमा दर्ता भएका ४ वटा कर्तव्य ज्यान मुद्दा ४ वटै किनारा लागेको छ । घट्नामा ३ महिला १ बालिकाको मृत्यु भएका थियो । संलग्न ७ पुरुष महिला ३ पुरुष पक्राउ गरिएको छ ।

ज्यान मार्ने उद्योग १३ वटा मुद्दा दर्ता भएकोमा ३२ जना पक्राउ परेका थिए । जबरजस्ती करणीका २३ वटा मुद्दा दर्ता, चोरीमा ४२ वटा मुद्दा दर्ता,अभद्र व्यवहारमा सबैभन्दा बढी ११९ वटा मुद्दा दर्ता भएको थियो ।

महिला तथा बालबालिका विरुद्धको अपराध तथा जघन्य तथा गम्भीर प्रकृतिका अपराधको सफल अनुसन्धान गरी उद्धार कार्यमा पनि डिएसपी  जवेगुको कार्यकाल उल्लेखनीय रह्यो ।

उनले धरान ६ स्थित सामुदायिक वन भित्र लसुनेका रुखको फेदमा कर्तव्य गरी मारिएको अवस्थामा तत्काल नाम थर वतन नखुलेको महिला मृत अवस्थामा फेला परेको घटनामा मृतकको पहिचान गरी कर्तव्य ज्यान मुद्दामा ६ जनालाई कानुनी दायरामा ल्याएका थिए ।

धनकुटा देखि धरान तर्फ सरकारी नम्बर प्लेट प्रयोग गरिएको गाडीमा ल्याउँदै गरेको ठुलो परिणाम ७ सय केजी गाँजा सहित २ वटा गाडी एक जना मानिस नियन्त्रण गरेका थिए । धरानका विभिन्न स्थानमा कोरडिङ सर्चिङ एण्ड स्क्रिनिङ गरी लागूऔषध गाँजा ३३८७ केजी, ब्राउन सुगर ६९ ग्राम १९० मिली ग्राम पक्राउ गरे ।

प्रतिबन्धित लागु औषधी चक्की र क्याप्सुल १ लाख ८६हजार ७६६, मनोद्विपक सुई २८२ एम्पुल, नियन्त्रित औषधी १ लाख ३ हजार ३२२, ट्याब्लेट सहित ३०९ जना मानिस पक्राउ गरिएको थियो । धारिलो हतियार खुकुरी प्रहारको धेरै घट्नाहरुमा संलग्न व्यक्तिहरूको पहिचान गरी निजलाई पक्राउ गरी गरी कारबाही कानुनी कारबाही गरिएको छ ।

अदालतबाट फैसला भई जेल सजाय, दण्ड जरिवाना तोकिएका तर फरार कैदीहरू २६८ जना पक्राउ गरिएको छ । पक्राउ गरेसँगै अदालतले तोकेको उनीहरूको कुल ६३ वर्ष १ महिना ११ दिन कैद र तोकिएको २५ लाख २ हजार ५६८ रुपैयाँ १८ पैसा जरिवाना असुल उपर गर्न इलाका प्रहरी धरानले योगदान पुर्‍याएको छ ।

इलाका प्रहरी कार्यालय धरानले कार्यालय सञ्चालन गरिरहेको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा प्राप्तिको लागि सरोकारवाला निकाय, जनप्रतिनिधिहरू सँग छलफल समन्वय गरी यस कार्यालयले ओगटेको १ बिघा २ कट्ठा १२ धुर जग्गाको नाप जाँच कार्यहरू सम्पन्न गरी प्रतिष्ठानलाई पत्राचार गरिएको छ ।

सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न लागुऔषध, साइबर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरी धरानका मुख्य चौकबजार एरियामा रहेको सिसि क्यामराको जडान मर्मत सम्भार गरी इलाका परिसरभित्र रहेको क्यान्टिनको हिरासत कक्षको सिसि क्यामेराको स्टोरेज क्षमता ९० दिनको बढाई आन्तरिक व्यवस्थापन तथा कार्यालय सजावटका लागि उत्कृष्ट कार्य गरेका छन् ।

राजश्वमा योगदानको सूचकाङ्क पनि डिएसपी जबेगुको कार्यकालमा उल्लेखनीय रहेको छ । उनको कार्यकालमा इलाका प्रहरीले कुल १ करोड ७६ लाख ८ हजार ७८६ राजश्व सङ्कलन गरेको छ ।