धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले सुरु गरेको कोकाह प्रोजेक्ट भाग–२ को श्रमदानमा पाईप तान्दा भीरबाट लडेर गम्भीर घाइते भएका धरान–११ का ६५ वर्षीय कुलराज राईको बिपी प्रतिष्ठानमा मृत्यु भएको छ ।
घाइते श्रमदाता राईको आज शुक्रवार मृत्यु भएको उनका भतिज मेघराज राईले ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको डिएसपी प्रकाश जवेगुले बताए । श्रमदानमा घाइते राई वराहक्षेत्र वडा १ स्थित बान्द्रेचौरी भन्ने स्थानमा श्रमदान चलिरहेको बेला कोकाह प्रोजेक्ट–२ को पाइप तान्दै गर्दा गत: माघ १९ गते शनिवार करिब १० मिटर माथि भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनको ५ महिना देखि बिपी प्रतिष्ठान आइसियुको भिआइपी सघन कक्ष आइसियुमा उपचार भइरहेको थियो । आइसियुमा उनको रेखदेख विभागका कोअडिनेटर डा. सविन भण्डारीले गरेका थिए ।
भिरबाट खसेका ६५ वर्षीय राईको पेटमा, टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । उनको माघ २० गते सघन कक्षमा शल्यक्रिया भएको अस्पतालले जनाएको थियो । शल्यक्रिया गरेपछि फोक्सोमा समस्या भई सघन उपचार कक्ष आइसियुमा उपचार भइरहेको डा. भण्डारीले जनाएका थिए ।