धरान : गृहमन्त्री रमेश लेखकले काठमाण्डूको तीनकुनेमा चैत १५ गते भएको हिंसक घटना अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने अगुवा दुर्गा प्रसाईँ भएको बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज शुक्रवार घटना विवरण बताउँदै उक्त कुरा उल्लेख गरेका हुन ।

गृहमन्त्री लेखकले भने ‘प्रदर्शनका क्रममा अगुवा मध्येका एक दुर्गा प्रसाईँ स्वयंले दिउँसो बा. प्र. ०१–०२८ च ०२०१ नं को गाडी हाँकी अश्लील शब्द प्रयोग गर्दै र भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीहरूलाई किच्ने नियतका साथ सुरक्षा घेरा तथा ब्यारिकेड माथि बलपूर्वक गाडी हाँकेपछि माहौल बिग्रिन पुगेको थियो ।’

उनले थपे ‘उक्त घटना लगत्तै भिड उत्तेजित भई सुरक्षाकर्मी माथि ढुंगामुढा र सिसाका बोतल लगायतका बस्तु प्रहार गरेका थिए ।’

कार्यक्रम स्थलबाट अगुवा भनिएका व्यक्तिहरूले नै भिडलाई उत्तेजित बनाउने गरी सबै ‘साथीहरू परपर बसेर हेर्ने होइन अगाडि वढ्नोस, संसद् भवनलाई इङ्गित गर्दै वानेश्वरतर्फ अगाडि वढ्नुहोस’ जस्ता निर्देशन दिएपछि अनियन्त्रित बनेको भिडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रूपमा पटक पटक सचेत गराएको गृहमन्त्रीले बताए ।

उनले भने ‘तथापि नेतृत्व गरेकाहरूबाटै उक्साहट गरेकोले भिड थप आक्रामक भएको हुँदा भिडलाई तितरबितर गरी परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले वाध्यात्मक रुपमा क्रमशः बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।’

अनियन्त्रित भिडले सडकको ट्राफिक आइल्याण्ड भत्काउने, तोडफोड गर्ने, सुरक्षाकर्मी माथि हरतरहले आक्रमण गर्ने जस्ता उच्छृङ्खल गतिविधि निरन्तर जारी राख्दै नजिकै रहेको इन्द्रेणी सहकारी रहेको भवनमा ढुङ्गा हान्ने तथा आगजनी गर्ने कार्य सुरु गरेको गृहमन्त्रीले बताए ।

उनले भने ‘आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट हर सम्भव प्रयास भएता पनि आगो निभाउनका लागि आउँदै गरेको दमकल तथा सुरक्षा निकायको गाडीमाथि भिडले आक्रमण गरी अवरोध गरेकोले तत्काल आगो नियन्त्रण गर्न नसकिएको हो ।’

गृहमन्त्री लेखकले अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउन गरिएको हिंसक घटनाको निष्पक्ष छानबिन हुने बताए ।

आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्बाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भई काम गर्ने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरे ।

संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुन पाउने नागरिक अधिकारको चरम अवमूल्यन हुने गरी व्यक्तिका निजी सम्पत्ति, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा सवारी साधनमा भएको तोडफोड, विध्वंस तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो वा होला भनेर अनुमान सम्म पनि आजको सभ्य समाजले गर्न नसक्ने उनले बताए ।

गृहमन्त्रीले भने ‘घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रूपमा अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन ।’ 

आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ। तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य रहेको गृहमन्त्रीले बताए ।