धरान : त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यपालिका अनुसार धरानका ३ वटा आङ्गिक क्याम्पसहरूमा गठित स्ववियु निर्वाचन समितिमा विद्यार्थी सङ्गठनहरू दर्ता भएका छन् ।
कार्यतालिका अनुसार चुनावमा सहभागी हुने विद्यार्थी सङ्गठनहरू गत सोमवार दर्ता भएका हुन । बुधवार मतदाता नामावली प्रकाशित भएको छ । मतदाता नामावलीमा दाबी विरोध पछि अन्तिम नामावली आइतबार प्रकाशित हुनेछ ।
यसपालि स्ववियु चुनावका लागि धरान स्थित महेन्द्र क्याम्पस र केन्द्रिय प्रविधि क्याम्पसमा १०/१० वटा विद्यार्थी सङ्गठन दर्ता भएका छन् । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा भने ७ विद्यार्थी सङ्गठन मात्र चुनावका लागि दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
महेन्द्र क्याम्पसमा दर्ता भएका १० विद्यार्थी सङ्गठनहरूमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन दर्ता भएका छन् ।
यसैगरी जसपा उपेन्द्र निकट समाजवादी विद्यार्थी युनियन नेपाल, नेकपा माओवादी विप्लव निकट अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), किराँत खम्बुवान राष्ट्रिय निकट राष्ट्रिय साझा विद्यार्थी सङ्घ दर्ता भएका छन् ।
यसैगरी नेकपा माओवादी मोहन वैद्य किरण निकट अनेरास्ववियु (क्रान्तिकारी), खम्बुवान राष्ट्रिय मोर्चा निकट खम्बुवान विद्यार्थी मोर्चा, संयुक्त विद्यार्थी सङ्गठन स्वतन्त्र दल दर्ता भएका छन् ।
निर्वाचन अधिकृत लक्ष्मी कृष्ण श्रेष्ठका अनुसार महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार ४८४ रहेको छ ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पनि १० वटा विद्यार्थी सङ्गठन दर्ता भएको निर्वाचन अधिकृत राम सोभित यादवले बताए ।
यादवका अनुसार हात्तीसारमा दर्ता भएका सङ्गठनहरूमा स्वतन्त्र समूह, नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियू,अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), स्वतन्त्र विद्यार्थी सङ्घ, विद्यार्थीको आवाज, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन छन् ।
केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारमा कुल मतदाता सङ्ख्या ९५६ रहेको छ ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ७ वटा विद्यार्थी सङ्गठन चुनावको लागि दर्ता भएको निर्वाचन अधिकृत विनयलाल श्रेष्ठले बताए ।
दर्ता भएको सङ्गठनहरूमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, समाजवादी विद्यार्थी युनियन नेपाल, स्वतन्त्र विद्यार्थी समूह (क), अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन छन् ।
इन्जिनियरिङ क्याम्पसमा मतदाता नामावली प्रकाशनमा कुल सङ्ख्या २१०० रहेको छ । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार स्नातकोत्तरका विद्यार्थीहरूको नाम दर्ता नभइसकेकोले दर्ता भएपछि अन्तिम नामावली प्रकाशन सम्ममा मतदाता सङ्ख्या बढ्ने सम्भावना छ ।
धरानका ४ वटा क्याम्पस मध्ये नेपाल संस्कृत विश्वविद्यालय सम्बद्ध पिण्डेश्वर विद्यापीठमा चुनावी कार्यक्रम छैन ।
त्रिभुवन विश्वविद्यालयको धरान स्थित आङ्गिक ३ क्याम्पसमा करिब ७ हजार ९४० जना मतदाता रहेका छन् ।


































































