विराटनगर : विराटनगर बरगाछी-रानी सडक सडक सौन्दर्यीकरण परियोजनाका लागि कृषि विकाश बैङ्कले २ लाख रुपैयाँ प्रदान गरेको छ ।

महानगरपालिका कार्यालयमा सोमवार आयोजित कार्यक्रमका बिच बैङ्कका प्रदेश निर्देशक रञ्जन खनाल, शाखा प्रबन्धक टंकप्रसाद पोखरेल, वरिष्ठ शाखा प्रमुख केदार अधिकारी, सुरेन्द्र अधिकारी र पङ्कजमणि पौड्यालले मेयर नागेश कोइरालालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सडक सौन्दर्यीकरण परियोजनामा बैङ्क र वित्तीय संस्थाहरूबाट हालसम्म १४ लाख रुपैयाँ जम्मा एको छ । यसअघि ७ वटा विभिन्न बैङ्कहरूबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । परियोजनाको लागत अनुमान कुला ५५ लाख रुपैयाँको छ ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैङ्क, ग्लोबल आइएमई, कुमारी बैङ्क, सानिमा बैङ्क र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् । महानगरपालिकाले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरेको छ ।

प्राविधिक सहितको समितिले फूल र बिरुवाको जात, लागत अनुमान लगायत समेटेर महानगरपालिका लाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनका आधारमा सौन्दर्यीकरणको प्रक्रिया अघि बढाएको मेयर कोइरालाले जानकारी दिए ।

विराटनगर बरगाछी-रानी ५ किलोमिटर दुरी सडकमा ४६ वटा मेडिएम डिभाइडर रहेको सौन्दर्यीकरण अभियानका संयोजक पुनमकुमार दाहालले बताए । एउटा डिभाइडरमा नेपाल उद्योग परिसंघ कोसी प्रदेशले सौन्दर्यीकरण गरिसकेको छ ।

असार १ गते सौन्दर्यीकरणको औपचारिक शुभारम्भ गर्ने तयारी भएको दाहालले बताए ।