विराटनगर : दमकका वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालन, दमक अस्पतालमा उपकरण थपका लागि नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराइले कोशी प्रदेश सरकारको बजेटको माग गरेकी छन् ।

प्रदेश सरकार आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणमा व्यस्त भएको बेला उपप्रमुख भट्टराइले विराटनगरमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूसँग भेट गरी बजेटमा योजना समावेश गर्न माग गरेकी हुन् ।

उनले नगरपालिकामा अपाङ्गता भएकाहरूलाई र महिलाहरूलाई सिप विकास तालिम तथा प्रविधि हस्तान्तरण, विभिन्न सामुदायिक भवनहरूको स्तर उन्नति, सडकहरू निर्माण लगायतका विभिन्न योजनाहरू समेत माग गरेकी बताइन् ।

दमक नगरपालिका उपप्रमुख भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस नगर सभापति प्रकाश प्रसाईँ सहितको टोलीले प्रदेशका भौतिक योजना मन्त्री गणेश उप्रेती सुशील, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, बन तथा पर्यटन राज्य मन्त्री वन्दना झाँगड, सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले भेटेर योजनाहरू प्रस्तुत गरेको हो ।

भेटमा बजेटमा योजनाहरू समावेश गर्ने आश्वासन पाएको उपप्रमुख भट्टराईले बताइन् । मन्त्री र सचिवहरू मागप्रति सकारात्मक रहेको उनको भनाई छ ।

Damak Aspatal Budget news 2