इटहरी : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई लक्षित गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले ब्याक बेन्चरले राजनीति गर्न नजानेको टिप्पणी गरेका छन् ।

इटहरी जेसिजले गरेको जेसीज सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै उनले 'ब्याकबेञ्चर' हरुले नेतृत्व चलाउन नसक्ने र नजान्ने बताएका हुन् । 

केदार कार्की झुक्किएर राजनीतिक नेतृत्वमा पुगे पनि नेतृत्व चलाउन असफल भएको उनको भनाइ छ । राजनीति गर्नेहरूको लागि अध्ययन अत्यावश्यक रहेको बताउँदै उनले सफल नेता बन्न सबैभन्दा पहिले आफूले आफूलाई चिन्न जरुरी रहेको बताए ।

आम जनतामा नकारात्मक भाष्य निर्माण भएको बताएका मुख्यमन्त्री कार्कीले ‘नेताहरू भ्रष्ट हुन्छन्, पढेका हुँदैनन्, व्यभिचारी हुन्छन्’ भन्ने भाष्य चिर्न पनि सक्षम बन्न जरुरी रहेको प्रस्ट पारे । उनले सङ्घीयतालाई समस्या भन्दा पनि अवसरको रूपमा लिनुपर्ने भनाइ राखे ।

यसअघि मुख्यमन्त्री बहाल रहेको अवस्थामा केदार कार्कीले पढाइले मात्र सर्वाङ्गीण विकास नहुने बताएका थिए । आफ्नै उदाहरण दिँदै उनले आफू ब्याकबेञ्चर भएर मुख्यमन्त्री भइसकेको तर फस्टबेन्चरहरु नासु खरदार भएर भुँडी भर्न मात्र जानेको टिप्पणी गरेका थिए ।

ब्याकबेञ्चर हुँदैमा कमजोर र फस्ट बेन्चमा बस्दैमा सक्षम भन्ने भाष्य गलत भएको उनले बताएका थिए ।