धरान : लोकलक्ष्मी स्मृति प्रतिष्ठानद्वारा आज शनिवार आयोजित एक समारोहमा प्रा.डा.सञ्जीव शर्मा र धरान नगरपालिकाका पूर्व उपप्रमुख स्वर्गिय कृष्णनारायण पलिखेलाई मरणोपरान्त ५१/५१ हजार रुपैयाँ राशीको ‘प्रोफेसर इन्द्रप्रसाद विमला श्रेष्ठ धरान सेवा सम्मान पुरस्कार’ प्रदान गरिएको छ ।

प्रतिष्ठान स्वर्गिय प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठद्वारा मातापिताको नाममा २०६४ सालमा स्थापित गरेका हुन । सामाजिक सेवा कार्य गर्दै आएको प्रतिष्ठानका संस्थापक श्रेष्ठको निधन भएपछि उनका परिवारले ‘प्रोफेसर इन्द्रप्रसाद विमला श्रेष्ठ धरान सेवा सम्मान पुरस्कार’ स्थापना गरेका हुन ।

प्रा.डा. शर्मालाई उनले वीपी प्रतिष्ठानमा रही दिर्घरोगको विशेषज्ञ सेवाका साथै केएचडिसी स्थापना गरी धरान लगायत पूर्वमा गम्भीर रोगप्रति जनचेतना तथा स्वास्थ्य उपचार सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको लागि २०८० सालको सम्मान प्रदान गरिएको हो ।

स्वर्गिय कृष्णनारायण पलिखेलाई उनले धरानको जलाधार क्षेत्रको संरक्षणका लागि गरेको आन्दोलन तथा कानुनी लडाइँका साथै नगरपालिकामा उपप्रमुख रहेकै अवस्थामा भ्रष्टाचार, अनियमितताको विरुद्धमा उठाएको आवाजलाई उच्च मूल्याङ्कन गर्दै २०७९ सालको सम्मान प्रदान गरिएको हो ।

प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठले धरान नगर पञ्चायतको प्रधानपञ्च रहेको बेला २०३३ सालमा राजा वीरेन्द्र पूर्वाञ्चल भ्रमणमा आउँदा धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि जलाधार क्षेत्रको घोषणा गर्न बिन्ती पत्र चढाएका थिए ।

सोही साल राजा वीरेन्द्रले जलाधार क्षेत्र घोषणा गरेपछि हालको जलाधारमा रहेको बस्तीका स्थानियबासीलाई सट्टाभर्ना दिएर उक्त क्षेत्रमा मानव बस्ती निषेध गरिएको थियो ।

समारोहमा सम्मानितद्वयलाई प्रतिष्ठानका अध्यक्ष स्वर्गिय श्रेष्ठका छोरा रञ्जित श्रेष्ठले सम्मापत्र र नगद पुरस्कार प्रदान गरेका थिए । मरणोपरान्त सम्मानित कृष्णनारायणको सम्मानपत्र, पुरस्कार श्रीमती निर्मला पालिखेले ग्रहण गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले पिता स्वर्गिय इन्द्रप्रसाद श्रेष्ठले जीवनको उत्तरार्धमा सामाजिक कार्यको लागि प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक सेवा गर्दै आइरहेकोमा उनको देहान्तपछि स्मृति स्वरूप बर्सेनि धरानको विकास र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तित्वलाई सम्मान तथा पुरस्कार स्थापना गरिएको बताए ।

सम्मानित प्रा.डा.शर्माले चिकित्सक पेसाको क्रममा आफूलाई लागेको कार्य आफूलाई खासै ठुलो योगदान नलागेको बताउँदै सामान्य स्वास्थ्य चेतना नहुँदा सानो उपचारबाटै बच्न सकिने रोगबाट बिरामीको मृत्यु भएको घट्नाले केएचडिएच संस्था स्थापना गर्न अभिप्रेरित गरेको बताए ।

उनले सरल दैनिक जीवन शैली नै स्वास्थ्योपचारको मुख्य आधार भएको चेतना नहुँदा मानिसमा सामान्य उपचारका लागि ठुलो खर्च गर्ने प्रवृत्ति बढेको बताए । उनले उदाहरण दिँदै भने ‘हिजोआज 'भिटामिन डि'को मात्रा जँचाउने र महँगो भिटामिन डी खाने चलन बढेको छ।’

तर त्यो 'भिटामिन डि'को महँगो गोलीले कुनै काम नगर्ने कुरा एक अनुसन्धानले खुलासा गरेको बताउँदै प्राडा. शर्माले भने ‘भिटामिन डि को मुख्य श्रोत घाम नै हो र हामीले दिनमा केही बेर घाम ताप्ने गर्‍यौ भने त्यो प्राप्त भइहाल्छ ।’ तर बेकारमा भिटामिन डी नै नपाइने महँगो औषधी मानिसहरू खाइरहेको उनको भनाई छ ।

कार्यक्रम सञ्चालन श्रेष्ठकी छोरी तारा श्रेष्ठले गरेकी थिइन् । उनले सम्मानका लागि व्यक्ति चयन डा.आनन्द आचार्य, राजविमल श्रेष्ठ र रवीन्द्र थापा रहेको ३ सदस्यीय समितिले गरेको बताइन् । समारोहमा श्रेष्ठका परिवार, नातेदार आफन्तहरू लगायत आमन्त्रितहरू उपस्थित थिए ।

puraskar-photo