विराटनगर : विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी भइरहेको छ । शुक्रवार सुरु भएको बाल भेलाले बालमैत्री महानगर घोषणा गर्न आवश्यक सूचक पुरा गर्ने कुरामा जोड दिएको हो । भेला आज शनिवार सम्म चल्नेछ ।
महानगरलाई बालमैत्री घोषणा गर्न आवश्यक ५१ सूचकमध्ये केही सूचक पूरा गर्न बाँकी रहेको छ । बालभेला उद्घाटन समारोहमा मेयर नागेश कोइरालाले सूचक पुरा गर्न महानगरपालिकाले अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
उनले विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताउँदै तत्कालीन बुधनगार गाविस र झापाबैजनाथपुरलाई विराटनगरमा गाभेका कारण सूचक पुरा हुन बाँकी रहेको उल्लेख गरे ।
बाल क्बललाई क्रियाशील बनाउन बजेटको अभाव हुन नदिने मेयर कोइरालाले प्रतिबद्धता जनाए ।
सामाजिक विकास समितिका संयोजक वडा १ का अध्यक्ष काजीबहादुर बस्नेतले वडाले बजेट छुट्याउँदा पनि उपयोग नभएको बताउँदै वडा स्तरको बाल क्लबलाई सक्रिय बनाउन सुझाव दिए ।
भेलामा १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको रहेको थियो । महिला बालबालिका शाखा प्रमुख मञ्जु लोहनीले महानगरलाई बालमैत्री नगर बनाउने तयारी अगाडि बढाइएको बताइन् ।
महानगर बालक्बल सञ्जालका अध्यक्ष आदित्य झाको सभापतित्वमा भएको भेलामा वडा  ३ का अध्यक्ष वासुबहादुर बस्नेत, वडा १५ का प्रकाश साह, वडा १९ का श्याम घिमिरे, बालक्बल सञ्चालका पूर्व अध्यक्ष गौतम मण्डल, उपाध्यक्ष दीक्षा आचार्यले शुभकामना दिएका थिए ।
आज शनिवारसम्म सञ्चालन हुने भेलाले बाल क्लब सञ्जालको पुनर्गठन गर्नेछ ।