धरान : धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरलाई कोशी प्रदेशकै फुटबल तालिम केन्द्रको रूपमा विकास गर्ने योजनामा लगानी गर्न प्रदेश सरकार तयार रहेको सामाजिक विकाश मन्त्री पाँचकर्ण राईले बताएका छन् ।

टेक्निकल सेन्टरमा एन्फाको युवा विकास परियोजनाबाट सञ्चालित यु-१३ का बालकहरूको ४ वर्षे आवासीय फुटबल तालिम उद्घाटन कार्यक्रममा आज बुधवार उनले टेक्निकल सेन्टरलाई कोशी प्रदेशकै नमुना फुटबल एकेडेमी बनाउनु पर्ने कुरा उनले बताएका हुन ।

मन्त्री राईले भने 'कोशी प्रदेश सरकारको बजेट बन्दैछ यसलाई प्रदेशकै नमुना बनाउने योजनाको प्रस्ताव ल्याइहाल्नुहोस् बजेट छुट्याउने छु ।' उनले बजेट मस्यौदा समितिमा मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित आफू पनि रहेको बताउँदै आर्थिक वर्ष २०८१/०८२ कै बजेटमा एकेडेमीका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए ।

मन्त्री राईले खेलकुद अहिले देशलाई विश्वमा चिनाउने माध्यम बनेको बताउँदै खेलकुदका प्रतिभाहरूका लागि खेल व्यवसायीक र व्यक्तिगत प्रसिद्धि कमाउने माध्यम भएको बताए । उनले भने ‘उहिले अभिभावकहरू छोरा छोरीलाई खेलकुदमा लाग्नु हुँदैन भन्थे, अहिलेका अभिभावकहरू छोरा छोरी खेलकुदमा लागोस् भन्ने चाहना राख्छन् ।’

एन्फा केन्द्रीय अध्यक्ष पङ्कज विक्रम नेम्वाङले एन्फाले सुरु गरेको युवा विकास परियोजनाको फुटबल एकेडेमी नेपाली फुटबलको भविष्यलाई सुनौलो बनाउन सुरु गरिएको बताए । एकेडेमीमा प्रवेश पाएको विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले भने ‘योग्य फुटबल खेलाडी बन्न अनुशासन पहिलो कुरा हो ।’

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले अबको १० वर्षमा नेपाललाई एसियाली फुटबलको सुपर-८ टिमको रूपमा स्थापित गर्न एन्फाले एकेडेमीलाई महत्त्वाकाङ्क्षी परियोजनाको रूपमा अघि बढाएको बताए ।

कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, प्रदेश सभा सदस्य विजय राई, धरानका निवर्तमान मेयर तिलक राई, काँग्रेस धरान नगर सभापति श्याम पोखरेल लगायतले तालिममा प्रवेश पाएको प्रशिक्षार्थीहरूलाई शुभकामना प्रकट गरेका थिए ।

यु-१३ को ४ वर्षे आवासीय फुटबल तालिमका लागि ३० जनाले प्रवेश पाएका छन् । उनीहरूको विद्यालयीय पढाई धरान-१२ स्थित सुनाखरी एकेडेमी बोर्डिङ स्कुलमा हुनेछ । आवास र तालिम टेक्निकल सेन्टरमा हुनेछ । तालिम उद्घाटनको अवसरमा मन्त्री राईले उनीहरूलाई आवासमा दैनिक आवश्यक सामाग्री प्रदान गरेका थिए ।

Anfa U13 Kapuri 2