धरान : धरान-१४ विजयपुर स्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर मन्दिर क्षेत्र जाने पुरानो बजार जाल्पा रोड धरान-३ मा निर्मित प्रवेशद्वार हिजो बिहीबार विधिवत् उद्घाटन गरिएको छ ।

विजयपुरको पूर्व दक्षिण स्थित उक्त प्रवेशद्वार पिण्डेश्वर मन्दिर परिसरका साथै पिण्डेश्वर संस्कृत विद्यापीठ र विजयपुर स्थित धार्मिकस्थहरु बुढासुब्बा, दन्तकाली, पञ्चकन्या, ऐतिहासिक दरबार स्थल, जाने सडकको पनि पश्चिमी प्रवेशद्वार हो ।

पिण्डेश्वर बाबाधाम समितिका संस्थापक अध्यक्ष तथा दाता कृष्णप्रसाद श्रेष्ठले एक समारोहका बिच प्रवेशद्वारको उद्घाटन गरेका हुन । नेपाली शैलीको कलात्मक प्रवेशद्वार कुल २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल मास्के अनुसार प्रवेशद्वार निर्माण २०७८ साल देखि सुरु गरिएको थियो । निर्माणमा ८५ प्रतिशत जनसहभागिता र वडा ३ कार्यालयको ६ लाख रुपैयाँ र धरान उपमहानगरपालिकाको १ लाख ५० हजार रुपैयाँ लगानी रहेको छ ।

पित्तलको छानो लगाएर अष्टमण्डप सजावट गरी निर्माण गरिएको प्रवेशद्वार पूर्वकै पहिलो भएको अध्यक्ष मास्केको भनाई छ ।

उद्घाटन अवसरमा कोसी प्रदेश सभा सदस्य यशोदा कायस्थले सरकारको बाटो नहेरी स्थानीय जनसहभागितामा पूर्वकै कलात्मक प्रवेशद्वार निर्माण भएकोमा खुसी व्यक्त गरिन् ।

वडा ३ का सदस्य मनिष खड्गीले धन्यवाद ज्ञापन गरे । उक्त अवसरमा वडा ३ का अध्यक्ष विद्या शाक्य, वडा ४ अध्यक्ष धनबहादुर राई, ५ का वडाध्यक्ष मनप्रसाद लिम्बु, नेवा: देय दवु प्रदेश अध्यक्ष इन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।

gate-1