धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन नियम कार्यविधि अनुसार क्षेत्राधिकार उल्लङ्घन गर्दै प्रमुख प्रशासकीय अधिकृतले गर्ने काम समेत आफै गर्न थालेका छन् ।

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृत लाई सरुवा लिन बाध्य बनाई उपमहानगपािलकाको प्रशासकीय कार्यहरू, विभिन्न कार्यक्रमहरूको सम्झौता गर्ने कार्यहरू समेत आफै गर्न थालेका छन् ।

मेयर साम्पाङले आजै मगंलबार भौतिक पूर्वाधार तथा यातायात कार्यालय सडक विभाग चाकुपाट ललितपुरलाई नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर  दक्षिण जोगवनी-किमाथाङ्का जोडने कोशी राजमार्ग सडकको मापदण्ड ७२ फिट कायम गर्न आफै पत्र लेखेका छन् ।

नेपाल सरकारको निर्णयलाई स्थानीय सरकारले उल्लङ्घन गर्न नमिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा देवी निरौलाले अडान लिएकी थिइन् । त्यही निहुँमा मेयर साम्पाङले प्रशासकीय अधिकृत निरौलालाई बिदामा बस्न अनुमति दिँदै आफै पत्र लेखेका हुन ।

प्रमुख प्रशासकीय अधिकृत निरौलाले नेपाल सरकारबाट तोकिएको २०५ फिटको मापदण्ड उल्लङ्घन गर्दै मेयर साम्पाङले राजमार्गको मापदण्ड ७२ फिट कायम गरी सडकको नक्सा प्रमाणीकरण गर्न र इजाजत दिनलाई दबाब दिँदा निरौलाले सरकारको निर्णयलाई उल्लङ्घन नगर्ने अडान लिएकी थिइन ।

मेयर साम्पाङको कार्यशैलीका बारेमा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले भने ‘खोइ अचम्म लागि रहेको छ ? प्रचलित कानुन र व्यवस्था अनुसार पद बहाली गरेको नेतृत्वले कानुन र व्यवस्था बुझ्नु पर्ने हो ।’

कानुनविद्हरूले मेयर साम्पाङको कार्यशैली स्थानीय सरकार सञ्चालन विपरीत भएको बताएका छन् । कानुन विज्ञसँग सम्पर्क गर्दा स्थानीय सरकार सञ्चालन ऐन अनुसार मेयरले आफै कुनै पनि योजना तथा कार्यक्रम सम्झौता गर्न नमिल्ने बताए ।

letter-of-harka-sampang