धरान : धरान उपमहानगरपालिका राजश्व परामर्श समितिका संयोजक उपमेयर अईन्द्रबिक्रम बेघा सहितको टोलीले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट तर्जुमाको पुर्वसन्ध्या मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ ।

समितिले सोमबार मेयर साम्पाङलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा आगामी आर्थिक वर्षको लागि बजेट घटाउन प्रस्ताव गरिएको छ । भने यथार्थमा आधारित बजेट बनाउनको लागि बजेटको आधार घटाउन प्रस्ताव गरिएको उपमेयर बेघाले बताए ।

समितिले सरोकारवाला सङ्घसंस्था, सुनसरी उद्योग वाणिज्य सङ्घ, पुर्वजनप्रतिनिधिहरु सबैसँग परामर्श गरेर प्रतिवेदन तयार पारेको संयोजक बेघाले बताए ।

समितिले आगामी आर्थिक वर्षको प्रस्तावित आम्दानी १ अर्ब ६७ करोड ८४ लाख ९६ हजार मात्र बनाउन प्रस्ताव गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा २ दशमलव ५९ प्रतिशत कमी हो ।

यथार्थमा आधारित बजेट बनाउन प्रस्ताव गर्दा आकार घटेको देखिएको उनले बताए । सङ्घ र प्रदेश सरकारबाट आम्दानी हुने भनिएको कतिपय बजेट प्राप्त नहुँदा उपमहानगरपालिकाको बजेट प्रभावित भएको उनले बताए ।

चालु आर्थिक वर्षमा कुल आय अनुमान १ अर्ब ७२ करोड ३१ लाख २५ हजार गरिएको थियो । हाल वैशाख मसान्त सम्मको यथार्थ कुल आय भने १ अर्ब २१ करोड ४४ लाख ४० हजार ३७२ मात्र रहेको छ ।

चालु वर्षमा अनुमानित आयको लक्ष्य भेट्टाउन धरानलाई कठिन देखिन्छ । तर, अझै आर्थिक वर्षको २ महिना बाँकी नै रहेकोले आशावादी हुनुपर्ने उपमेयर बेघा बताउँछन् ।

बेघाका अनुसार धरानले करको दायरा बढाएर सबै ठाउँमा पुग्दा ८०-९० करोड राजश्व सङ्कलन हुन्छ । तर, यथार्थमा २५-२६ करोड मात्र राजश्व सङ्कलन भइरहेको उनले बताए । लक्ष्य भने ३६ करोड हाराहारीमा छ । बजेटको आकार बढाएर ढाँट्नुभन्दा आकार घटाएर जे हो, त्यही काम गर्नु उचित हुने पनि उपमेयर बेघाले बताए ।

प्रतिवेदन बुझ्दै मेयर साम्पाङले बजेट सोचेजस्तो नहुने बताए । मेयर साम्पाङले केन्द्र र प्रदेशबाट सोचे जस्तो आय नभएको बताउँदै ‘त्यही भएर बजेट घटाउने प्रस्ताव दिएको होला, बजेट सीमा सिलिङ समितिमा प्रतिवेदन सहित छलफल  हुन्छ’ भनी बताएको मेयरलाई उद्धृत गर्दै बेघाले बताए ।

प्रतिवेदन समितिका सदस्य सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, कार्यपालिका सदस्य विकास भाटी, देवीका विश्वकर्मा, राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाको उपस्थितिमा बुझाइएको हो ।