इटहरी : नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अधिवेशनमा देखिएको प्रतिनिधि विवादमा केन्द्रीय सङ्गठन विभागले पत्राचार गरेको छ । कोसी प्रदेश कमिटी अध्यक्षलाई पत्राचार गर्दै विभागले जिल्ला अधिवेशनमा प्रतिनिधित्वको व्यवस्था बारे निर्देशन दिएको हो ।

शनिवार देखि इटहरीमा सुरु भएको अधिवेशनमा काठमाडौँमा क्रियाशील जिल्ला सम्पर्क मञ्चबाट प्रतिनिधि छनौट भएको गुनासो परेको थियो । अध्यक्षका उम्मेदवार खेमराज पोखरेलले विधानको व्यवस्था विपरीत प्रतिनिधि बनाएको भन्दै उजुरी दिएका थिए ।

सोही विषयमा विभागले सम्पर्क मञ्चबाट प्रतिनिधित्व गर्ने वैधानिक व्यवस्था नभएको पत्रमा उल्लेख गरेको छ । 'कोसी सम्पर्क समन्वय कमिटीको मातहतमा रहेको काठमाडौँ उपत्यका भित्र क्रियाशील जिल्ला सम्पर्क मञ्चको तर्फबाट सुनसरी जिल्ला अधिवेशनमा औपचारिक प्रतिनिधित्व गर्ने वैधानिक व्यवस्था नभएको ब्यहोरा जानकारी गराइन्छ', पत्रमा भनिएको छ ।

विभाग प्रमुख काशीनाथ अधिकारीले दिएको निर्देशनात्मक पत्रमा सुनसरी जिल्ला कमिटीलाई बोधार्थ बनाइएको छ । वर्तमान जिल्ला कमिटी अध्यक्षले पोखरेल समूहलाई पराजित गराउने मनसायले विधान विपरीत प्रतिनिधि छनौट गरिएको आरोप छ ।

Nepal Communist Party news 2