विराटनगर : बेरोजगार युवालाई रोजगारी अभिवृद्धि प्रवर्द्धन गर्न विराटनगर महानगरपालिकाले निजी क्षेत्र र सरोकारवाला निकाय बिच छलफल गराएको छ ।

महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता बिच नमुना रोजगार सेवा केन्द्रको माध्यमबाट पुलको काम गर्दै आएको छ ।

केन्द्रद्वारा मङ्गलवार आयोजित छलफलमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरपालिकाले बेरोजगार युवाहरूका लागि रोजगारदातासँग पुलको काम गर्दै आएको बताए ।

आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले भने ‘रोजगारीको खोजीमा सेवा केन्द्रमा आउने युवाहरूलाई रोजगारदातासित जोड्ने गरेको छ ।’

रोजगार सहायक सरस्वती साहका अनुसार केन्द्रले यस वर्ष ७६ जनालाई १० वटा योजनाहरूमा सहभागी गराएको छ । थप ५१ जनालाई बारिष्ठा, गार्मेन्ट र विद्युतीय सवारी साधन मर्मत तालिम दिएकोमा ५० प्रतिशतभन्दा बढी स्वरोजगार भइसकेको छ ।

छलफलमा मोरङ उद्योग व्यापार सङ्घकी सदस्य वन्दना जैन, नेपाल उद्योग परिसंघ प्रदेश युवा संयोजक मुनन रिजाल, विराट मेडिकल कलेज अस्पतालका उदयप्रसाद साह, मोरङ सहकारी अस्पतालका धरणी खनाल, कम्प्युटर एसोसिएसनका अजित चापागाईँले रोजगारी सिर्जनाका बारेमा धारणा राखे ।

आइएलओका सौरभराम जोशी, एक्सन फर डेभलप्मेन्टका महेन्द्र प्रसाईँ, उद्योग सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले योजनाबद्ध रूपमा काम गर्नु आवश्यक रहेको औँल्याए ।

पर्यटन व्यवसायी पुण्य भट्टराई, सामाजिक विकास मन्त्रालय प्रदेश सूचना केन्द्रका ललितकुमार यादव, स्विस कनट्र्याक्टकी गीता लिम्बू लगायतले रोजगारीका बारेमा धारणा राखेका थिए ।