विराटनगर : विराटनगर ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १००औँ पटक रक्तदान गरेका छन् ।

गोल्डेन अस्पतालमा उपचाररत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिवार रक्तदान गरेका हुन् । रायलाई चाहिने रगत 'ए पोजेटिभ' मिलेपछि श्रेष्ठले रक्तदान गरेको बिरामीका ज्वाइँ रविन्द्रराय बताए ।

यसभन्दा अगाडि श्रेष्ठले गत सालको माघ ९ गते ९९ औँ पटक रक्तदान गरेका थिए ।

श्रेष्ठले रक्तदान गरेका तीन महिना पुगेमा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आएका छन् । उनले सङ्ख्या धेरै पुर्‍याउने भन्दा पनि दिएको रगत काम लागोस् भनेर रक्तदान दिने गरेका छन् । उनको यसपटक वैशाख ९ गते दिन पुगेर रगत दिन चाहे पनि २२ गते मात्र रक्तदान गरेका हुन् ।

खासगरी ताजा रगत चाहिएका बिरामीका लागि उनी रगत दिन चाहने भएकोले तीन महिना १३ दिनमा उनले रक्तदान गरेका हुन् । चालिस पटकसम्म प्राय रक्तदान कार्यक्रममा रगत दिदैं आएका उनले त्यसपछि भनेको जुनसुकै बेला ताजा रगतका आफू रक्तदान थालेको उनले बताए ।

अब उनलाई अझै पाँच वर्ष रक्तदान गर्न सकिन्छ भन्ने लागेको छ । यस आधारमा उनको एक सय बीस पटक पुग्ने सम्भावना छ ।  विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको एक सय नौ पटकको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारण दिन छाडेका छन् ।

विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् । यस्तै नेपालमा प्रेमसागर कर्माचार्य (काठमाडौँ) १७८पटक रक्तदान गरिसकेका छन् ।