धरान : बराहक्षेत्र नगरपालिका स्थित नेपालको ठुलो चतरा नहरमा नेपालमा पहिलो पटक स्टोन स्किपिङ ‘पानी सुल्के’ प्रतियोगिता आयोजना गरिने भएको छ ।

नेपालको गाउँघरमा बालबालिका, किशोरवयकाहरुले नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेल्ने परम्परागत यो खेल ‘स्टोन स्किपिङ’ अमेरिका, आयरल्याण्न्ड, स्कटल्यान्ड लगायत देशमा ठुलो प्रतियोगिताको रूपमा खेलिँदै आएको आयोजक समितिका युवराज भट्टराईले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार युरोपमा पन्ध्रौँ शताव्दिमा यो खेल सुरु भएको यसको इतिहास लेख्नेहरूले उल्लेख गरेका छन् । वाटर स्किपिङ प्रतियोगिताको रेकर्ड गिनिज बुक अफ वर्ल्डमा समेत उल्लेख भएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार पानीमा ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा विश्व रेकर्ड बनाएका छन् । उक्त रेकर्ड अहिले सम्म तोडिएको छैन ।

नेपालमा केटाकेटीको खेल मानिएको वाटर स्किपिङले अहिले सम्म औपचारिक रूपमा खेलको मान्यता पाएको छैन । चतरामा यो खेलको सम्भावना भएको खोजकर्ता सञ्चारकर्मी भीषण राईले भने ‘नेपालमा औपचारिक प्रतियोगिता अहिले सम्म नभएकोले यो नै पहिलो प्रतियोगिता हो ।’

कात्तिक २८ गते भाइटिकाको अघिल्लो दिन चतरा स्थित मूल नहरमा महिला र पुरुष समूहमा  प्रतियोगिता हुनेछ । प्रतियोगिता ‘चतरा हाइकिङ समूह’ आयोजना गर्न लागेको हो । प्रतियोगीतालाई बराहक्षेत्र वडा १ वडा कार्यालयले प्रायोजन गरेको छ ।

प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

आयोजक समितिका अनुसार प्रतियोगिता नेपालमा चलिएको खेललाई औपचारिक खेलको रूपमा स्थापित गर्न आयोजना गरिएको हो । यसबाट युवा सशक्तीकरण, मेलमिलाप र आपसी सद्भावपूर्ण प्रतिस्पर्धाका भावना बढाउने विश्वास गरिएको संस्थापक भीषण राईले बताए ।

सिक्का जस्तो चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । पानीको सतहमा उक्त ढुङ्गा कति पटक उफ्रिन्छ त्यसको गणनाको आधारमा प्रतियोगिताको विजेता बन्ने आयोजक सदस्य युवराज भट्टराईले बताए।