वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ वराहक्षेत्र मन्दिर एरियामा सम्पन्न प्रथम संस्करणको कोकाहा कौशिकी मिनी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक कोकाहा फुटबल क्लब वराहक्षेत्रले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई एक गोलको विरुद्ध चार गोलको अन्तरले पराजित गर्दै आयोजकले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधि हात पारेको आयोजकले नगद ५१ हजार सहित मेडल, ट्रफी हात पारेको छ भने उपबिजेतामा चित्त बुझाएको तालतलैयाले नगद २६ हजार सहित मेडल र ट्रफि प्राप्त गरेको छ ।
विधागत तर्फ उत्कृष्ट डिफेन्डर आयोजकका सबिन श्रेष्ठ, उत्कृष्ट खेलाडी आयोजकका अनिल श्रेष्ठ, उत्कृष्ट फर्वाड आयोजकका सन्तोष लिम्बु, उत्कृष्ट गोल रक्षक आयोजकका सुदिप श्रेष्ठ, म्यान अफ द म्याच आयोजकका सरोज लखेन्दि र उच्च गोलकर्ता ४ गोल गरेका तालतलैयाका उमेश राई घोषित भए । उनीहरूले नगद २ हजार प्राप्त गरेका थिए ।
विजेता, उपविजेता तथा विधागत तर्फ उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि वराहक्षेत्र खेलकुद विकास समिति संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्य, वडा नं १ का अध्यक्ष किसन थापामगर, नगर खेलकुद विकास समितिका सदस्य सन्तोष श्रेष्ठ, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, सचिव राजु घिमिरे, कोषाध्यक्ष सुमन भण्डारी, वराहक्षेत्र मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठ, गुप्त वराह प्रवर्धन तथा संवर्द्धन उपसमितिका संयोजक रबी श्रेष्ठ, समाजसेवी सन्तोष भण्डारी, तिलक परियार, दीपक परियार, गणेश श्रेष्ठ, उमा श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































