इटहरी : खाद्य सुरक्षा र स्वच्छताको लागि त्यसको उत्पादन, वितरण तथा उपभोगको अवस्थामा भर पर्ने बताइएको छ। शुक्रवार इटहरीमा आयोजित ताजा फलफूल उत्पादकको लागि खाद्य सुरक्षा तालीममा खानेकुरा उत्पादन देखी उपभोगमा समेत गम्भीर बन्नुपर्ने बताइएको हो ।

अमेरिकी सहयोग नियोगको सहयोगमा कृषि वन विज्ञान विश्वविद्यालय अन्तरगत अनुसन्धान तथा प्रसार निर्देशनालयको कार्यक्रममा वक्ताहरूले खाद्य सुरक्षा र स्वच्छता बारे प्रष्ट पारेका हुन् । विश्वविद्यालय सेवा आयोगका सदस्य तथा अनुसन्धानकर्ता पुष्कर कुमार पाल जलवायु परिवर्तनको प्रभाव कृषि उपज उत्पादन सम्म परेको बताए । जलवायु परिवर्तनको कारण हुने बेमौसमी वर्षाले मानव स्वास्थ्यमा मात्र नभई कृषि उत्पादनमा समेत नकारात्मक असर गरेको उनको टिप्पणी छ । खानेकुरा पकाउँदा मात्र नभई त्यसलाई पखाल्दा समेत सचेतता पूर्वक ध्यान दिनुपर्ने उनले सुनाए ।

वरिष्ठ कृषि वैज्ञानिक डाक्टर सावित्री अधिकारी कृषि उपज उत्पादनमा मलको प्रयोग सही तरिकाले गर्दा मात्र त्यसको स्वच्छता बारे यकिन गर्न सकिने बताउँछिन् । मलमा हुने नकारात्मक व्यक्टेरीयाको कारण उत्पादित बस्तुको गुणस्तरमा असर पर्ने बताइन् । कम्पोस्ट मल तयार पार्दा देखी उत्पादित कृषि सामग्रीको भण्डारणमा समेत ध्यान दिन आग्रह गरिन् ।

खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले खाद्य गुणस्तरको विषयमा जानकारी गराए । गुणस्तरीय बस्तुको उत्पादन कृषकको भूमिका रहेको बताउँदै त्यसको उपभोगमा समेत सचेत हुन आग्रह गरे । खानेकुराको मात्र मिलाएर खाँदा मात्र त्यसको स्वच्छता बारे सोच्न सकिने उनले बताए ।

एफएसआइएलका प्रमुख अनुसन्धानकर्ता तथा सहप्राध्यापक रामहरि तिम्सिना काँचो खानेकुरामा उपभोक्तालाई सचेत गराउन कार्यक्रम सुरु गरिएको बताउँछन् । उत्पादक र उपभोक्ताले खाद्य स्वच्छतामा कस्तो व्यवहार छ भन्ने बारे अध्ययन भइरहेको उनले बताए । डेढ वर्ष देखी अनुसन्धानमुखी परियोजना सञ्चालन भइरहेको बताउँदै तिम्सिनाले अनुसन्धानबाट आएको निष्कर्षलाई किसान सम्म पुर्याउने उद्देश्यले काम भइरहेको जानकारी गराए ।

यसपछि पोखरा, काठमाडौँ, चितवन लगायत क्षेत्रहरूमा कार्यक्रम गर्न लागिएको उनले बताए । ‘उपभोक्ताको सलाद तथा फलफूल खाने बानी बढ्यो तर त्यसमा प्रयोग हुने पानी तथा उत्पादन र उपभोगको विधिबारे जानकारी गराउन लागिएको हो । अनुसन्धानबाट प्राप्त निष्कर्षलाई विभिन्न बुलेटिन तथा भिडियो सन्देश सामग्री तयार पारेर सञ्चार माध्यम बाट प्रचार प्रसार गरिन्छ,’ उनले भने ।