धरान : विश्वमा मानवताको भावनालाई प्रोत्साहित गर्न संयुक्त राष्ट्र संघको आव्हानमा मनाउन थालिएको विश्व मानवता दिवस बुधवार धरानमा पनि मनाइएको छ ।
राष्ट्र संघले सन् २०३ अगस्त १९ का दिनलाई विश्व मानवता दिवस घोषित गरेको छ । नेपाल परिवार नियोजन संघ सुनसरी शाखाद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले पछिल्लो समय संसार समाजमा मानवीय भावनामा हराउँदै गएको बताए ।
उनीहरूले प्रविधिको विकासले हराउँदै गएको मानवीयताको अवस्थामा प्राकृतिक प्रकोप, मानव निर्मित आपत् विपतका बेला मानवीय उद्धारका लागि संस्थागत सेवामा कार्यरत संस्थाहरूले माविमय भावनाको पूनस्थापनाका लागि भूमिका खेल्नु पर्ने कुरामा जोड दिए ।
प्रमुख अतिथि रेडक्रस सुनसरीका सभापति उमेश थापाले इराकमा संयुक्त राष्ट्र संघीय नियोगमा भएको बम हमलामा दर्जनौँ राष्ट्र संघिय अधिकारीहरूको मृत्यु भएपछि त्यसैको स्मृतिमा विश्व मानवता दिवस मनाउन थालिएको बताए ।
संघकी वरिष्ठ शाखा प्रबन्धक सुजन काफ्लेले पछिल्लो समय सामाजिक सञ्जाल लगायतका कारण समाजमा अमानवीय भावनामा ह्रास आएको अनुभव गर्न थालिएको बताइन । उनले प्रकोपहरूले सिर्जना गर्ने मानवीय सङ्कटहरूमा परिवार नियोजन संघले गर्ने सेवाहरूका बारेमा पनि बताइन् ।
संघकी जिल्ला सभापति निर्मला अधिकारी आचार्यको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्व केन्द्रीय सदस्य सुरेशमान श्रेष्ठ, माधव गोविन्द श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ अध्यक्ष विजय श्रेष्ठ, वडा ८ का अध्यक्ष धनबहादुर राई, महेश मोहन पेलिखेले मानवता बारे आफ्नो धारणा राखेका थिए । स्वागत भाषण संघका कोषाध्यक्ष सागर प्रसाईँले गरेका थिए ।


































































