इटहरी : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कोशी प्रदेश सभापति उद्धव थापाले गत निर्वाचनमा केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले गठबन्धनका उम्मेदवार हराउन लागेको बताएका छन् । झापा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारलाई मत नदिन लागिपरेका बुढाथोकीले क्षेत्र नम्बर ४ का उम्मेदवार देउमान थेबे विरुद्ध प्रचार गरेको बताए । 
नेपाली काँग्रेस झापा जिल्ला सभापति थेबेलाई पराजित गर्न बुढाथोकीले कार्यकर्तालाई फोन गरेको उनको भनाई छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले बुढाथोकीलाई पार्टी सङ्कटमा पर्दा भाग्ने र अवसरमा आएर ठुलो कुरा गर्ने गरेको आरोप लगाए । ‘नेताहरू र कार्यकर्तालाई हप्काउँदै हिँड्ने नेताले गर्दा काँग्रेसको अवस्था के हुन्छ ? फोन गरेर भोट नदिनु र देउमान थेबेलाई हराउनुपर्छ भनेको रेकर्डको प्रमाण झापाका कार्यकर्ता सँग सुरक्षित छ ।,’ उनले भने, चुनावको बेला भागेर अस्ट्रेलिया जाने अनि विदेश गएर काँग्रेस कार्यकर्तालाई भोट नदिन लगाउनेलाई कारबाही हुनुपर्छ ।’
हाल कोशी प्रदेशमा थापाको नेतृत्वमा सरकार गठन भएको छ । प्रदेश सरकार गठनमा सभामुखले हस्ताक्षर गरेको र कोशी नाम राख्दा काँग्रेस प्रदेश समितिले आधिकारिक धारणा नदिएको भन्दै बुधवारको बैठकमा बुढाथोकीले प्रश्न उठाएका थिए । केपी ओलीले कोशी प्रदेश नाम राखेको बताउँदै उनले महामन्त्रीको प्रतिवेदनमा कोशी प्रदेशमा भएको आन्दोलन र नामको विषयमा कुनै कुरा उल्लेख नभएको बताए । सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई सम्बोधन गर्दै बुढाथोकीले ‘हामीले मुख्यमन्त्री मान्नुपर्ने कि नपर्ने ?’ भन्दै प्रश्न गरे ।
बिहीबार बोल्ने क्रममा मुख्यमन्त्री थापाले सुरुवातमा धेरै कमजोरी भए पनि सच्चिन नदिईकन दोष देखाउने काम भएको भन्दै चिन्ता व्यक्त गरे । सभामुखले हस्ताक्षर गरेको सवालमा प्रदेशसभा सदस्यको हिसाबमा समर्थन गरेको प्रस्ट पारे। 
महामन्त्री विश्वप्रकाश शर्मालाई समेत बुढाथोकीले झापा जिल्ला समितिले गलत गर्दा टुलुटुलु हेरेर बसेको आरोप लगाएका छन् । जिल्ला सभापतिले विधान मिचेर सय जनाको समिति बनाएको बताउँदै उनले शर्माको ध्यानाकर्षण गराए । 
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा बुढाथोकी उनै थेबेलाई जिताउन लागि परेका थिए । शर्माले समर्थन गरेका राम कट्टेललाई हराउन बुढाथोकीले भएभरको बल प्रयोग गरे । शर्मालाई दुई फुटे मान्छे भन्दै खिसीटिउरी गरेका बुढाथोकीले थेबेको पक्षमा खुलेर प्रचार गरे । त्यसबेला मुख्यमन्त्री थापा र बुढाथोकी थेबेकै पक्षमा थिए । फलस्वरूप शर्माको समर्थन पाएका कट्टेल पराजित भए । 
बुढाथोकी शेरबहादुर देउवा पक्षका नेता हुन भने थापा र थेबे कृष्ण प्रसाद सिटौला निकट छन् । झापाले एकै पटक प्रदेश सभापति, मुख्यमन्त्री देखी केन्द्रीय महामन्त्री पाएपछि बुढाथोकीले कमजोर भएको महसुस गरेका छन् । सुरुका कार्यकर्ताहरू अहिले आफ्नै नेता भएपछि बुढाथोकीले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।