इटहरी : कोशी प्रदेशका उद्योग, पर्यटन, कृषि तथा सहकारी एवम् भौतिक निर्माण मन्त्री भक्तिप्रसाद सिटौलाले मुलुकलाई दोहन गर्ने अनैतिक काम कोही कसैबाट हुन नहुने बताएका छन् ।

असल संस्कार शिक्षा मार्फत प्राप्त हुने भएकाले गर्दा समग्र व्यक्तिको नैतिक सम्पत्ति शिक्षा भएको उनको भनाई छ ।

इटहरी-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको सम्मान कार्यक्रममा मन्त्री सिटौलाले भने ‘‘राजनीतिमा पूर्णकालीन लाग्नेले त अनैतिक काम गर्नै हुँदैन ।’

आफू पनि पूर्णकालीन राजनीतिक कार्यकर्ता भएकाले गर्दा कहिल्यै पनि अनैतिक काम नगर्ने बताउँदै उनले असल काम गर्ने संस्कार शिक्षा मार्फत प्राप्त हुने भएकाले त्यही अनुसारको शिक्षालयको वातावरण हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘खास गरेर विद्यार्थीलाई असल बनाउने भूमिका गुरुहरूकै हो ।’ हरेक व्यक्तिको सम्पूर्ण सम्पत्ति र भविष्य भनेकै उनीहरूका सन्तान भएकोले बताउँदै मन्त्री सिटौलाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याएर अघि बढ्ने प्रतिबद्धता प्रकट गरे ।

समारोह विद्यालयले मन्त्री सिटौलालाई सम्मान गर्न आयोजना गरिएको थियो ।

उक्त अवसरमा प्रदेश सभासद् रोहित कार्कीले विद्यालय भित्र सम्पूर्ण रूपमा शैक्षिक वातावरण हुनुपर्ने बताए । राजनीतिले स-सानो कुरामा राम्रो भन्दा हाम्रोले प्राथमिकता पाउने हुँदा शिक्षालयको वातावरण बिग्रिने उनको भनाई थियो ।

इटहरी वडा १ का अध्यक्ष रतन कार्कीले राष्ट्रिय माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न प्रदेश सरकार समक्ष माग गरे ।

विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतले इटहरी क्षेत्रभरिका सामुदायिक उत्कृष्ट विद्यालय मध्ये दोस्रो स्थानमा पुगेकाले सबैभन्दा उत्कृष्ट बनाउन शैक्षिक गुणस्तर अभिवृद्धिमा लागेकाले स्मरण गराउँदै त्यसका लागि प्रदेश सरकारसँग सहयोग गर्न आग्रह गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर विश्वकर्मा, रास्वपा वडा नेता निश्चल पोखरेल, नेकपा माओवादी केन्द्रका मीनबहादुर मगरले विद्यालयबारे चर्चा गरेका थिए ।राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाई हुने गरेको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङको पनि पठनपाठन हुँदै आएको छ ।