धरान : प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रूपमा रहेको धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ बिहानको शुभ मुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राण प्रतिष्ठा गरी समुद्घाटन गरिएको छ।
विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाताहरूको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो ।
गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो । यही माघ ९ गतेका दिन पिण्डेश्वर विद्यापीठमा आयोजित प्राण प्रतिष्ठा तथा दाताहरूको सम्मानमा आयोजित कार्यक्रमका बिच धरान उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले मन्दिरको उद्घाटन गरे।
उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको थियो । मन्दिर निर्माणमा धरान उपमहानगरपालिका, धरान १४ नं.वडा कार्यालय, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, रम्भादेवी कर्माचार्य, सरला कायस्थ, पितरुमल अग्रवाल, प्रा.नारायणदत्त पौडेल, विद्यापीठका पूर्वविद्यार्थीहरु लगायत विभिन्न सङ्घसंस्था, व्यवसायी र समाजसेवीहरूको सहयोग रहेको थियो ।
मन्दिरमा राखिएको सरस्वतीको मूर्ति विद्यापीठका पूर्व विद्यार्थी फणीन्द्र तिम्सिनाले तथा गणेशको मूर्ति देवेन्द्र पौडेलले एवम् हनुमानको मूर्ति गजानन्द दीक्षितले सहयोग स्वरूप उपलब्ध गराएका थिए । विभिन्न दाताहरूले मन्दिरको गजूर, कलात्मक ढोका, घण्ट, पूजाका सामग्री आदि पनि सहयोग गरेका थिए ।
उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडाको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै खतिवडाले विद्यापीठको भौतिक र शैक्षिक उन्नयनमा आफ्नो सदैव सहयोग रहने बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं.१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विद्यापीठको चौतर्फी विकासमा वडा कार्यालयको सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम विद्यापीठका प्राचार्य काशीनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।










































































